आगामी निर्वाचनमा विद्युतीय मतदान मेसिन प्रयोग गर्न आयोगको प्रस्ताव

काठमाडौं, असार १६ ।  निर्वाचन आयोगले सरकारसँग आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विद्युतीय मतदान मेसिन (ईभीएम) प्रयोग गर्न सुझाएको छ।

आयोगका सहायक प्रवक्ता उपसचिव सूर्यप्रसाद अर्यालले बिहीबार विज्ञप्तिमार्फत आगामी निर्वाचनमा ईभीएम प्रयोगका लागि सरकारलाई प्रस्ताव पठाइएको बताएका हुन्।

आयोगले यसअघि स्थानीय तह निर्वाचनमा ईभीएम प्रयोग गर्न विज्ञसहितको समिति गठन गरेको थियो।

उक्त समितिले नेपालमा बनेका ईभीएमको प्रमाणीकरण गर्न अर्को समिति बनाउन सुझाएको थियो। तर स्थानीय निर्वाचनमा विद्युतीय मेसिन प्रयोग भएको थिएन। ‘हामीले स्थानीय तह निर्वाचनकै बेला ईभीएम प्रयोग गर्न समिति बनाएका थियौं। त्यसले एभिएम प्रयोग गर्न सकिने तर प्रमाणीकरण गर्न अर्को प्राविधिक समिति गठन गर्न भन्यो,’ उनले भने, ‘समय अभावले त्यो सम्भव भएन।’

आयोगले गठन गरेको समितिको प्रतिवेदनबारे आवश्यक निर्णय गर्न गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाइएको उनले जानकारी दिए। ‘मतपत्रमा मत हाल्दा बदर मत पनि धेरै भए। अहिलेको जमानामा ईभीएममा किन नजाने भनेर सरोकारवाला, मिडिया, समाजको चासो छ। त्यसकारण हामीले ईभीएम मेसिन माग गरेका हौं,’ उनले भने।

आयोगले सरकारसँग साउन मसान्तसम्म मेसिन उपलब्ध गराउन लेखिपठाएको छ। आयोगले संविधान तथा संघीय कानुनबमोजिम हुने राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसद् सदस्य, प्रदेशसभाका सदस्य तथा स्थानीय तहका सदस्यको निर्वाचनमा ईभीएम प्रयोग गर्न सक्ने कानुनी व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्