राष्ट्रिय सुरक्षामा बाहिरी हस्तक्षेप बढ्यो, सरकार किन मौन ? भीम रावल
काठमाडौं, असार १६ । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीमबहादुर रावलले नेपालको राष्ट्रिय सुरक्षामा बाहिरी हस्तक्षेप बढेको बताएका छन् ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । बाहिरी हस्तक्षेप नरोके देशले कष्टकर दिन भोग्नुपर्ने पनि उनको भनाइ रहेको छ ।
उनले भने,‘देशको विद्यमान सम्पूर्ण राजनीतिक परिवेशलाई हेर्दा खासगरी अर्थतन्त्र, कृषि, विदेश सम्बन्ध हेर्दा नेपालको राष्ट्रिय सुरक्षामा बाहृय हस्तक्षेप बढेको छ । यो हस्तक्षेपबाट नेपाललाई मुक्त नगर्ने हो भने नेपालका आउने दिनहरू झनै कष्टकर र पीडादायी रहने छन् ।’
रावलले नेपालले स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई बढावा दिनुपर्नेमा जोड दिए । नेपालमा ६र७ वटा देशका शरणार्थीहरुले प्रदर्शन गरेको आफूले देखेको दाबी गर्र्दै उनले यसबारेमा सरकार किन मौन रहेको भन्दै जवाफ मागे । उनले शरणार्थीहरु विमानमार्फत आएको हो भने अध्यागमनले किन फिर्ता नपठाएको भनेर प्रश्न समेत गरे ।
रावलले एसपीपीमा नेपाल संलग्न नहुने भनेर सरकारले भनेपछि त्यस सम्बन्धमा लेखिएको पत्र सार्वजनिक गर्न माग गरे । नेता रावलले नेपालको कुटनीति र परराष्ट्र नीतिमा गम्भीर विचलन देखिएको टिप्पणी समेत गरे ।
उनले संसद् र संसद्को अन्तर्राष्ट्रिय समितिले एसपीपी बारेका दस्तावेज माग गर्दा पनि सरकारले उपलब्ध नगराएको भन्दै आपत्ति जनाए ।
प्रतिक्रिया दिनुहोस्