गाउँमा डाक्टर जानै मान्दैनन्ः स्वास्थ्यमन्त्री खापुङ
काठमाडौं, असार १६ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले चिकित्सकहरु दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको बताएका छन्।
बिहीबार नेपाल स्वास्थ्य प्राविधिक संघको ४४औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले यस्तो बताएका हुन्।
उनले अहिले देशका विभिन्न जिल्लाहरुबाट दरबन्दी खालि रहेको भन्दै डाक्टर तथा नर्स पठाइदिन आग्रह गरेपनि स्वास्थ्यकर्मीहरु जान नमान्दा देशका सबै क्षेत्रमा स्वास्थ्यको सुनिश्चितता हुन नसकेको बताए।
मन्त्री खापुङले गाउँ क्षेत्रमा अहिलेपनि डाक्टर र नर्स एवं स्वास्थ्य प्राविधिकहरु जान नमान्दा स्वास्थ्य क्षेत्रमा समस्या आइरहेको बताए। उनले सबै स्वास्थ्यकर्मीहरुले जुनकुनै बेला कुनै क्षेत्रमा पनि जानुपर्नेछ भन्ने मानसिकताको विकास गर्न जरुरी रहेको बताए।
अहिले सरकार संघीयताको कार्यान्वयनमा रहेको उल्लेख गर्दै समायोजनमा पनि अनेक समस्या सिर्जना भइरहेको बताए। मन्त्री खापुङले स्वास्थ्यकर्मीहरुको जुनकुनै क्षेत्रमा जान हिचकिचाहट नगर्ने प्रवृतिको विकासले संविधानमा उल्लेख भएको स्वास्थ्य सम्बन्धी हकलाई कार्यान्वयन गर्ने कुरामा थप बल पुग्ने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्