बागमतीमा मुख्यमन्त्री पाण्डे हटाउन कांग्रेस र माओवादी सांसदको हस्ताक्षर
काठमाडौं, असार १६ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेविरुद्ध कांग्रेस, माओवादीका सांसदले हस्ताक्षर अभियान थालेका छन्।
एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका पाण्डेले आधा कार्यकाल र कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले आधा कार्यकाल चलाउने गरी सहमति भएको थियो। तर मुख्यमन्त्री पाण्डेले सहमति कार्यान्वयनलाई अटेर गरेपछि कांग्रेस, माओवादीले प्रदेशसभामा रहेका आ–आफ्ना सांसदको हस्ताक्षर लिन थालेका हुन्।
गत ७ असोजमा भएको सहमतिअनुसार पाण्डेले मुख्यमन्त्रीबाट हट्न नमानेपछि कांग्रेस र माओवादी केन्द्रका प्रदेशसभा सदस्यलाई हस्ताक्षर गराउन लागिएको हो। यसअघि बागमतीमा तीन जना मुख्यमन्त्री भइसकेका छन्।
मुख्यमन्त्री पाण्डेले पदबाट हट्न अटेर आवश्यक परेको खण्डमा प्रयोग गर्ने गरी हस्ताक्षर संकलन सुरु भएको बताइएको छ। बागमती प्रदेशले आगामी आर्थिक वर्षको बजेट बिहीबार पास गरेको छ। यसअघि बजेट पास हुनेबित्तिकै मुख्यमन्त्री परिवर्तन हुने नेताहरूले बताएका थिए।
११ कात्तिक ०७८ मा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले करिब ८ महिना सरकार चलाइसकेका छन्। सरकारले आगामी मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी अघि बढाएसँगै करिब ५ महिने कार्यकालका लागि कांग्रेस सांसद बानियाँलाई मुख्यमन्त्री बनाउने तयारीमा छ।
प्रतिक्रिया दिनुहोस्