कात्तिक वा मङ्सिरसम्ममा सङ्घ र प्रदेशको निर्वाचन हुन्छ: प्रमुख आयुक्त
काठमाडौँ , असार १६ । स्थानीय तह निर्वाचन सम्पन्न भएसँगै अब सङ्घ र प्रदेशको निर्वाचनको तयारीमा सरकार र आयोग जुटेको छ ।
यता निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने तयारी भइरहेको जानकारी दिएका छन् । सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा नै रहेको उनको भनाइ रहेको छ ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्यक्रमको शुभारम्भका अवसरमा प्रमुख आयुक्त थपलियाले उक्त निर्वाचन गराउने दायित्व आयोगको रहेको र सोबारे निर्णय हुन बाँकी रहेको बताए ।
उनले स्थानीय तहको निर्वाचनमा बाध्यतावश र सुरक्षाका कारणले मत गणनामा तारबार लगाउनुपरेको उल्लेख गर्दै लोकतन्त्रमा त्यस्तो गरिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी समेत गरे ।
त्यसैगरि प्रमुख आयुक्त थपलियाले स्थानीय तहको निर्वाचनमा कर्मचारीलाई दिइएको सुविधा बढी वा घटी नभई यथार्थपरक भएको स्पष्ट पारे । यसैबीच आयोगले स्थानीय तह निर्वाचनबारे सातवटै प्रदेशमा समीक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्