चट्याङ र सवारी दुर्घटनामा परि ८ जनाको ज्यान गयो
काठमाडौं ,असार १५ । पर्सा, बागलुङ, धादिङ र बाँकेमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ ।
पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ औराहा रेन्ज बस्ने ३२ वर्षीय हरेन्द्र दास थारुको सोही ठाउँस्थित खेतमा काम गर्ने क्रममा चट्याङ लागेर मंगलबार मृत्यु भएको छ ।
बागलुङको काठेखोला गाउँपालिका–४ तग्राम फापरखेत बस्ने २८ वर्षीया सुस्मा पुनको आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ लागेर मंगलबार राति मृत्यु भएको छ ।
चट्याङ लागेर अशक्त भएकी उनको धवलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ बेलगाउँ बस्ने ४२ वर्षीय लिलामान कुमालको आफ्नै गोठमा गाईलाई घाँस हाल्न जाँदा चट्याङ लागेर मंगलबार राति घटनास्थलमै मृत्यु भएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–३ नारायणपुर बस्ने सुनिता थारुको छोरा ७ वर्षीय अभिषेक थारुको चट्याङ लागेर मंगलबार साँझ मृत्यु भएको छ ।
आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ परी घाइते भएका उनको नर्सिङहोम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।
तनहुँ, मोरङ र प्युठानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
प्युठानको ऐरावती गाउँपालिका–४ धुवाङस्थित सडकमा सु.प.प्र. १००२ त ५२१२ नम्बरको ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३८ वर्षीया शान्ता रोका रहेकी छन् । उनको बुधबार बिहान मृत्यु भएको हो ।
खसेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँको व्यास नगरपालिका–१२ देउरालीस्थित सडकमा बा.४३ प ३०२० नम्बरको मोटरसाइकललाई ग.३ च ४१८२ नम्बरको बलेरोले मंगलबार ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा मोटरसाइकल चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ घर भएका २६ वर्षीय जयराम मोक्तान र मोटरसाइकलमा सवार मकवानपुर भिमफेदी गाउँपालिका–१ घर भएका २३ वर्षीय दिपेश गोले रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवार साधन र बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको रंगेली नगरपालिका–७ माउन्टेन मकालु बोर्डिङ स्कुलको गेटमा स्कुलको को.१ क ११३० नम्बरको बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुने विद्यार्थी सोही ठाउँ बस्ने महादेव मण्डलको छोरा ४ वर्षीय रितिक मण्डल रहेका छन् । उनको मंगलबार मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका रितिकको टाईम्स अस्पताल रंगेलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएकी स्कुलकी विद्यार्थी रंगेली नगरपालिका–६ बस्ने नरेश मण्डलकी छोरी ५ वर्षीया सनम कुमारी मण्डललाई थप उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ पठाइएको छ । हाल फरार रहेका बसका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्