मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं , असार १५ । अहिले नेपालमा देशभर मनसुनी वायुको प्रभाव देखिएको छ । मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज (बुधबार) दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसमविदले जानकारी दिएका छन् । देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
बिहीबार भने देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान शाखाले कान्द्रा, मोहना, खुटियालगायत साना नदीमा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
कान्द्रा नदीमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको अवस्थामा रहेको जनाइएको छ । नदी तटीय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विषेश सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्