प्रतिनिधि सभाको शून्य समय : मंकीपक्सको खतरादेखि फाष्टट्रयाकमा नागरिकता विधेयकसम्म
काठमाडौं,असार ९ । नेकपा (एकीकृत समाजवादी)की सांसद समिना हुसेनले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराएकी छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद हुसेनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण श्रमिक र निम्न आय भएकाहरुले चुल्हो बाल्न नसक्ने अवस्था भएको बताइन्।
उनले यस्तो स्थितिलाई ध्यान दिदैँ पेट्रोलियम पदार्थको मूल्य छिटोभन्दा छिटो घटाउन सरकारको ध्यानाकर्षण गराइन्।
सोही पार्टीकी सांसद लक्ष्मीकुमारी चौधरीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने सरकारको निर्णय फिर्ता हुनुपर्ने बताइन्।
उनले नागरिकता विधेयक र संघीय निजामती ऐन छिटो ल्याउन सरकारको ध्यानाकर्षण गराइन्।
नेकपा(एमाले)का सांसद लालप्रसाद साँवा लिम्बुले विद्यालयहरुमा आजसम्म पाठ्यपुस्तक पुग्न नसकेको बताए। उनले प्रथम त्रैमासिक परीक्षा आइसक्दा पनि पाठ्यपुस्तक नपाइएको बताए। उनले लाखौँ विद्यार्थीहरुको भविष्य अन्यौलमा नपार्न सरकारलाई आग्रह गरे।
नेकपा९एमाले०का सांसद लालबाबु पण्डितले नागरिकता विधेयकलाई फाष्टट्रयाकबाट पारित गरि नागरिकताको वितरण गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे। उनले सरकारले संघीय निजामती विधेयक फिर्ता गरेर संघीयताको मर्म र प्रशासनलाई तहशनहश बनाएको आरोप लगाए।
उनले संघीय निजामती विधेयकलाई पनि संसदमा ल्याई पारित गर्न सरकारको ध्यानाकर्षण गराए।
नेकपा(एमाले)की सांसद बिमला विश्वकर्माले स्टाफ नर्स र अनमी कोर्ष पढेका विद्यार्थीहरुलाई एउटै दर्जामा राखि सेवा, सुविधा दिनेगरी नीतिगत व्यवस्था मिलाउन सरकारसँग माग गरिन्।
उनले भनिन्, ‘एसईई पास गरेर गरिने स्टाफ नर्स कोर्ष र अनमी कोर्षका विद्यार्थीहरुले एउटै प्रकृतिको काम र जिम्मेवारी वहन गर्नुपर्छ। कोर्ष पुरा गर्न स्टाफ नर्सलाई ३ वर्ष र अनमीलाई १८ महिना राखिएको छ। जसका कारण कामको प्रकृति एउटै भएपनि कार्यक्षेत्रमा गरिने व्यवहार, प्राप्त गर्ने सेवा सुविधामा भने पुरै विभेद रहेको छ। तसर्थ सेवा अवधि भित्रैबाट आन्तरिक वृत्ति विकास गरी स्टाफ नर्स सरह बन्ने र देश वा विदेशमा काम गर्न जाँदा एउटै दर्जामा राखी मर्यादित काम र मर्यादित सेवा सुविधा प्राप्त गर्नेगरी स्वास्थ्य मन्त्रालयले नीतिगत व्यवस्था मिलाइदिओस्।’
नेकपा९माओवादी केन्द्र०की सांसद सत्य पहाडीले जाजरकोट, धादिङ र बझाङ जिल्लाका ३ वटा स्थानीय तहमा बैंकका शाखा नपुग्दा सामाजिक सुरक्षा भत्ता रोकिएको बताइन्। उनले सो स्थानमा सामाजिक सुरक्षा भत्ता पुर्याउन सरकारसँग माग गरिन्।
नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले थारु क्लष्टरलाई समेटेर निजामती सेवा ऐन पारित गर्न माग गरे। उनले टिकापुर घटना विशेष प्रकृतिको राजनीतिक घटना भएको उल्लेख गर्दै सो घटनामा थारुहरुमाथि लगाइएको मुद्धा फिर्ता गर्न सरकार सँग माग गरे।
उनले भने, ‘टिकापुर घटना विशेष प्रकृतिको राजनीतिक घटना भएकोले सो घटनामा थारु समुदायका साथीहरुमाथि लगाइएको झुठा मुद्दा फिर्ता गरी फरार सुचिमा रहेकाहरुलाई उन्मुक्ति र राजबन्दीहरुलाई अविलम्ब रिहाइ गर्न नेपाल सरकार सँग जोडदार माग गर्दछु।’
नेपाली कांग्रेसका सांसद सत्य नारायण शर्मा खनालले विदेशी मुलुकबाट नेपालमा मंकीपक्स भाइरस आउने खतरा रहेको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले यस विषयमा अध्ययन र तयारी गर्नुपर्ने बताए।
उनले खेत रोप्ने बेलामा किसानले मल नपाएर हाहाकार भएको भन्दै तुरुन्त मलको व्यवस्था गर्न सरकारसँग माग गरे।















प्रतिक्रिया दिनुहोस्