देशको चावी हाम्रै हातमा छ  : प्रचण्ड

काठमाडौँ , असार ९ ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो प्रदेश र संघको चुनावपछि कांग्रेस र एमाले आफूहरूसँग मिल्न आउनुपर्ने बताएका छन् ।

आज (बिहीबार) ललितपुरमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै प्रचण्डले देशको तालाचावी जनताले माओवादीको हातमा दिएको दावी गरे । उनले आगामी चुनावमा माओवादी मुलुककै दोस्रो पार्टी बन्ने सम्भावना रहेको दावी गरे ।

अध्यक्ष दाहालले संघ र प्रदेशको चुनावमा माओवादी नेकपा एमालेभन्दा अगाडि हुने सम्भावना रहेको बताएका छन् । ’संघ र प्रदेश चुनावमा वामपन्थी दलमध्ये पहिलो दल बन्ने सम्भावना रहेको छ । यदि चुनावमा हामी लेफ्टमध्येको पहिलो भयौं भने मुलुकको राजनीतिको बागडोर हाम्रो हातमा आउँछ,’ उनले भने ।

तेस्रो पार्टीका रूपमा अहिले माओवादीलाई कांग्रेस वा एमालेसँग मिल्नैपर्ने बाध्यता रहेको पनि उनले बताएका छन् । ‘अहिले चाबी त हाम्रै हातमा छ । तर कि कांग्रेससँग मिल्नुपर्ने कि एमालेसँग मिल्नुपर्ने अवस्था छ । हामीसँग चाबी त छ तर खोल्नका लागि अरु कसैको साथ चाहिने अवस्था छ,’ उनले भने ।

वामपन्थी दलमध्ये पहिलो पार्टी भएमा एमाले र कांग्रेस आफूहरूसँग मिल्न आउनै पर्ने उनले बताए । ‘लेफ्टमध्येको पहिलो दल हुने हो देशको राजनीतिको बागडोर माओवादी केन्द्रको हातमा आउँछ । प्रदेश र संघको चुनावपछि कांग्रेस र एमाले माओवादीसँग नमिले कुनै उपाय नहुने अवस्थामा पुग्न सकिन्छ भन्ने हो,’ उनले भने ।

सम्भावनालाई यथार्थमा बदल्न पार्टी पंक्तिमा निकै मेहनत चाहिने पनि प्रचण्डले बताए । ‘सम्भावनालाई रियालिटीमा बदल्न हामी सबैले मेहनत गर्नुपर्नेछ । हामी सबैले आउने ६-८ महिना दुःख गरेर संगठन बनाएर जनताको घर-घरमा टोलटोलमा पुगेर एक-एक मान्छेको हिसाब राखेर, आईटीको प्रयोग गरेर प्रचार संगठन निर्माण र सुदृढीकरणमा ध्यान दिनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्