विभिन्न स्थानमा पाँच जना मृत फेला, सप्तरीमा बस दुर्घटना- एकको मृत्यु, ११ घाइते
काठमाडौं, असार ९ । काठमाडौं, कास्की, दाङ, स्याङ्जा र पर्सामा पाँच जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–३ घर भएकी ४१ वर्षीया फुलमाया सुनार बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
बुढानिलकण्ठ नगरपालिका–८ स्थित निर्माणाधिन घरमा काम गर्ने उनी सोही घरको भुइँतलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
कास्कीको पोखरा महानगरपालिका–३२ मालमुल फाटको भष्मेटो भिरको खोल्सामा सोही ठाउँ बस्ने ५३ वर्षीय पुष्पराज तिवारी बुधबार मृत अवस्थामा फेला परेका छन् ।
दाङको लमही नगरपालिका–१ सुनडबरी बस्ने ६५ वर्षीय मान बहादुर सार्की छिमेकीको घरको आँगनमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
स्याङ्जाको आधिखोला गाउँपालिका–६ साम्दीखोलास्थित खेतमा सोही गाउँपालिका–२ ओईया बस्ने ५५ वर्षीय रेशम कार्की बुधबार मृत अवस्थामा फेला परेका छन् ।
पर्साको वीरगंज महानगरपालिका–१६ स्थित माइडिया पोखरी नजिकै हाल पहिचान नखुलेका करिब ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।सबै घटनाहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यता सप्तरी जिल्लामा आज भएको बस दुर्घटनामा एकको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन् ।हनुमाननगर कङ्कालिनी नगरपालिका–१ पूर्व–पश्चिम लोकमार्गस्थित कोशी ब्यारेज र कङ्कालिनी मन्दिरबीच ना५ख १८९८ नंको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार करिव ५५ वर्षीय एक व्यक्तिको मृत्यु भएको र उनको सनाखत हुन नसकेकोे उद्धार कार्यमा खटिनु भएका सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए ।
विराटनगरबाट कटारी जाँदै गरेको बस अनियन्त्रित भई सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको थियो ।
घाइतेमध्ये उदयपुर कटारी–३ का ७० वर्षीय मानबहादुर तामाङ र उनकी श्रीमती ६९ वर्षीया विष्णुकुमारी तामाङको अवस्था जटिल भएकाले विराटनगर पठाइएको, अन्य चार घाइतेको भारदहस्थित जिल्ला अस्पतालमा र पाँच जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
बस चालक फरार भएकाले उनको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्