यस्तो छ न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको ‘लेनदेन डिल’
काठमाडौं, असार ८ । काठमाडौँ जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न घुस लेनदेनबारेको अडियो सार्वजनिक भएपछि न्यायालय विवादमा तानिएको छ ।
यो विषयमा छलफल गर्न कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार न्यायपरिषदको बैठक बोलाएका छन् ।
यसैबीच साढे ५ अर्ब बढी ठगी आरोपमा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई छाड्न न्यायाधीश र वकिलले २ करोडको बार्गेनिङ गरेको विषयमा न्यायपरिषदमा छलफल हुने भएको छ।
न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको फोन संवादको मूख्य अंश यसप्रकार छ :
न्यायाधीश कोइराला– रुद्र जी ।
अधिवक्ता पोखरेल– प्रधानन्यायाधीशबाट १ नम्बर र तपाईं दुईटैलाई म खबर गर्न लगाइदिन्छु ।
कोइराला–प्रधानन्यायाधीशलाई ?
पोखरेल – प्रधानन्यायाधीशबाट १ नम्बरलाई खबर गर्न लगाइदिन्छु । हजुरलाई पनि खबर गर्न लगाइदिन्छु । हजुरले गर्दै नगर्ने भए त म बेकारमा किन वचन खेर फाल्न जाने त भन्नु न ? गर्दै गर्दिन भन्ने हो भने ।
कोइराला – सुन्नु न सुन्नु न ।… नगरौँ हौ सर । मलाई त कस्तो कस्तो लाग्यो ।
पोखरेल – हत्तेरिका तपाईं डराउनु पर्दैन । किन डराएको ? यस्तो मौका कहिले आउँछ ? अनि किन ? अरु मान्छे कत्रो गरेर बसेका छन् ।
कोइराला – त्यो हो कि हुनलाई, तर के भनेदेखि त्यो अब…..डराएर…..
पोखरेल – केही हुँदैन….केही हुँदैन । तपाईंले यो छोड्नु भयो भने तामाङको साम्राज्य पनि सकिन्छ । डिपोजिटकर्ता पनि सकिन्छन् । यो मुद्दा अभियोग पत्र लगेर हेर्दा कुन चाहिँ माइकालालले पैसा खाएर यति ग¥यो भन्ने खालको छ ?
अभियोग पत्र नै त्यस्तो बनाएर ल्याएको छ । सहकारी ऐन बमोजिमको कसुर स्थापित गरेर ल्याएको थियो भने हजुरलाई अलि अफ्ठ्यारो हुन्थ्यो । किनभने न्यहाँ त ऐनका सबै कुराहरु थिए । के के थिए ? ठगी त केही गरी ठहरिँदैन । नठहरिने कुरामा मान्छेलाई थुन्न हुन्छ त हजुर ?
कोइराला – हाँस्दै…त्यो त हो कि हुनलाई । त्यो कुरामा म कन्भिन्स छु । तर कुरा के भनेदेखि …
पोखरेल – यस्तो क्या हजुर ! त्यो मध्येका केही मान्छे मेरो घरमा आइसके । अफिसमा पनि आइसके । तँलाई हामी ठीक गर्छौं भनीसके । बहस नै गर्न सक्नेलाई पनि नभन्ने भन्ने हुन्न । त्योमध्ये रामप्रसाद श्रेष्ठ भन्ने मेरो क्लाइन्ट रहेछ । रिसाउँदै आएका थिए । त्यसको १० करोड कि १२ करोड रहेछ । तपाईं त इमान्दार राम्रो वकिल भनेको त तामाङको पक्षमा त्यस्तो बहस गर्नुभयो तपाईंले भन्दै आएका थिए । अनि मैले…
कोइराला – हिजो डिल्लीप्रसाद भट्टराई भन्ने आठराईको हो । वकिललाई त्यसो भन्नुहुन्छ ? उहाँको पेसा हो, धर्म हो भने । हैट त्यस्तो भन्नु हुन्न भने । त्यस्तो भन्छन् ।
पोखरेल – भन्छन् के । यस्तो के । अब मैल त सुरु देखिनै हजुरलाई भनेको थिएँ ।
कोइराला – भन्नु भएको हो । सुन्नु न त । जाहेरवालाको वकिल केशव बराल के रे ?
पोखरेल – होइन, रमेश बडाल ।
कोइराला – रमेश बडाल बहस गर्न आउने रे ।
पोखरेल – ठीक छ । त्यो त बहस गर्न पाइयो नि त हजुर ।
कोइराला – आज दिनभरी लागिहाल्छ । आजभोलि हुन सक्दैन । त्यसले गर्दा फेरि,…सुन्नुस न । बर्बाद हुन्छ नि त ।
पोखरेल – केही हुँदैन । केही हुन्न ।
कोइराला – हँ !
पोखरेल – ममाथि गराउँछु । माथिबाट संकेत आएन भने नगरिस्यो हगी । माथिबाट म गराउँछु । अनि लिने कुरा पनि म लिन्छु । अलि राम्रै ढंगले लिउँ । यो अवसर सधैँ आउँदैन, हेरिस्यो हगी । फेरि ठाउँ भएको ठाउँ छ । ठाउँ नभएको भए हजुर के भन्या तैँले भन्नुहुन्थ्यो । मैले चाहिँ । अब हजुरले त सुरुदेखि नै अलि अलि मानसिकता बनाएको । मैले बरु…
कोइराला – प्रधानन्यायाधीशले भन्छन् त ? प्रधानन्यायाधीशले उनलाई ?
पोखरेल – भन्छन् । म भनाउँछु । लु मैले अब भन्न लगाएँ । अब बाँकी कुरा गर्नु न तपाईं । आज चिया समयमा तपाईंलाई उसले संकेत गर्छ ।
कोइराला – ल हेरौँ न ।
पोखरेल – ल हेरौँ न होइन । मैले त्यति गरिसकेपछि हजुरले फेरि नाई भन्ने ?
कोइराला – सुन्नोस्न, आज हुँदैन । भोलि हुन्छ भनेपछि, आज मुद्दा रोकिने कुरा छैन । हैन…
पोखरेल – सामान पनि ल्याओ भन्नुपर्यो । उ गर्नुपर्यो । त्यत्तिकै फोगटिया त किन गर्ने फेरि ? समय नै छैन नि त । हैन किन उ गरिस्या भन्या । सबै कुरा गरिसकेपछि यस्तो बेलामा उ गर्नुहुन्न । सबै कुरा म गरिहाल्छु । बाहिर, माथि पनि भनाउँछु । सामान पनि म लिन्छु । त्योभन्दा बाहिर अन्त कही एक्स्पोज हुँदैन । केही हुँदैन, डाइरेक्ट डिल गर्छु मैले । यिनीहरुका सबै च्यानल हावा खाए । खासैमा दह्रोसँग यिनीहरु जानै सकेनन् ।
कोइराला – धरौटी माग्छन् नि, कति माग्ने ? कति भन्नु त ?
पोखरेल – एउटा रिजनेबल भन्ने नि ।
कोइराला – कति भन्नु त ?
पोखरेल – १० करोडको हाराहारीमा माग्नु नि ।
कोइराला – कति ? १० करोड ? ठीक छ, हुन्छ ।
पोखरेल – सधैँ यस्तो आउँदैन । अरु बेला गर्ने, यस्तो बेलामा एक दुईवटा सिद्धान्त छाँट्ने, गर्ने । जाहेरकर्ताको हित भन्ने । पासपोर्ट रोक्ने । कुन्नी के के गर्ने । एक दुई वटा, एक दुई वटा आईडिया निकालौँला नि हजुर ।
कोइराला – अँ…(हाँसो)
पोखरेल – त्यो गरौँ । यतातिर झ्याप्याक्कै २ जति लिउँ न ।
कोइराला – अँ । माथिबाट गर्छन् त ?
पोखरेल – माथिबाट हुन्छ । तपाईं, ए रामप्रसाद सर । अहिले गएर मैले गएर नमस्ते गरेर मैले मेरो यति काम तैले गर्नुपर्छ भन्दा गरेन भने त यो जति खुद्रागत को हुन्छ त ?
पैसा खाएर चाहिँ लालकाजीको बारेमा उहिलेदेखि यत्रो गरिरहेको छ, हैन त ?
कोइराला – उनीहरुले गर्ने ?
पोखरेल – उनीहरुले त गर्ने नि !
कोइराला – ए अँ ।
केही समयको कुराकानी पछि अन्त्य तिर…
कोइराला – ल भन्नु न त । जे गरौँला गरौँला । नत्र ।
पोखरेल – ल ल, मैले सुरु गरेँ है त । त्यहाँबाट आएपछि हजुरले पछि हट्न पाइसिन्न नि । अरुसँग, धेरैसँग कुरा नगरिस्यो नि फेरि ! तपाईं म मात्र ।
कोइराला – पैसाको कुरा गर्दै गर्दिन नि ।
पोखरेल – अम्बिका सम्बिकासँग कुरा भयो भने त फेरि कहाँ कहाँ पुग्छ, पुग्छ ।
कोइराला – यो त तपाईं र मेरो कुरा हो नि ।
(‘न्यायाधीश कोइराला र कानून व्यवसायी पोखरेलबीचको कुराकानीको अडियो न्यूज २४ टेलिभिजनले मंगलबार सार्वजनिक गरेको हो ।) –फोटो कान्तिपुरबाट लीएको हो ।
प्रतिक्रिया दिनुहोस्