ज्ञापनपत्र बुझाउन आएकी महिलाले गरिन् उपप्रमुख साहमाथि चप्पल प्रहार
काठमाडौं, असार ५ । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुखमाथि आक्रमणको प्रयास भएको छ । आइतबार नगरपालिकामा ज्ञापनपत्र बुझाउन आएको महिलाहरुले उपप्रमुख किशोरी साहमाथि चप्पल प्रहार गरेका छन् ।
उपमहानगरपालिका- २३ बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै उनीहरू नगर प्रमुख मनोज साहलाई ज्ञापन पत्र बुझाउन आएका थिए । ज्ञापनपत्र बुझाउन आएको समूहलाई मेयर साह नभेटेपछि उनीहरूले उपप्रमुख साहलाई ज्ञापनपत्र बुझाएका थिए ।
उपप्रमुख साहले ज्ञापनपत्र बुझेसकेपछि आफ्नो कार्यकक्ष भन्दा बाहिर कार्यालय प्रांगणमा सम्बोधन गर्न आएकी थिइन् । सम्बोधनको क्रममा उनले आफूहरु कसैलाई उजाड बनाउन नभई बसाल्न आएको बताएकी थिइन् ।
ती समूहलाई सम्बोधन गरिरहेको क्रममा उपप्रमुख साहमाथि एक महिलाले चप्पल प्रहार गरेको बताइएको छ । बेला गाउँका स्थानीय समाजसेवी एवं दाताहरुले रामजानकी दुल्हा भगवान कुटीलाई दिएको १७ बिघा १५ कठ्ठा जग्गा बेचबिखन हुन थालेको भन्दै स्थानीय वासिन्दाले त्यसलाई रोक्न ज्ञापनपत्र बुझाउन आएका थिए ।
प्रतिक्रिया दिनुहोस्