परराष्ट्रमन्त्री खड्काले भने – एसपीपी कार्यक्रम कुनै पनि हालतमा अघि बढ्दैन

काठमाडौं, असार ३ । परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपी कार्यक्रम अब अघि बढ्न नसक्ने बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री खड्काले सन् २०१७ पछि विश्वमा नयाँ नयाँ गठबन्धन बनेको र नयाँ रणनीतिहरू आएको बताउँदै एसपीपी कार्यक्रम अघि बढ्न नसक्ने बताएका हुन् ।

बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘२०१७ पछि विश्वमा नयाँ नयाँ गठबन्धन बनेको र नयाँ रणनीतिहरू आएका छन् । २०१५ मा एउटा छुट्टै अवधारणा रहेको र २०१९ मा अर्कै अवधारणा रहेको र २०१९ पछि एसपीपी ​ कार्यक्रम अघि बढेको छैन । यो कार्यक्रम अब अघि बढ्दैन ।’ मन्त्री खड्काले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको समेत बताए ।

उनले भने, ‘प्रधानसेनापतिले पनि भनिसक्नुभएको छ । प्रधानमन्त्रीले पनि भन्नुभएको छ । अब एसपीपी कार्यक्रम कुनै पनि हालतमा अघि बढ्दैन ।’ यसअघि प्राकृतिक विपत्ति लगायतका बेला सहयोग गर्ने किसिमले आएको सो कार्यक्रमलाई अहिलेको सन्दर्भमा बुझ्न नहुने पनि मन्त्री खड्काले स्पष्ट पारे ।

प्रधानमन्त्रीको अमेरिका भ्रमणको मिति तय भइनसकेको बताउँदै उनले बेला बेलामा उच्चस्तरीय भ्रमण भइरहनु स्वभाविक भएको उनले बताए । उनले भने, ‘बेला बेला उच्चस्तरीय भ्रमण भइहाल्छ ।

विगतमा पनि केपी ओली, शेरबहादुर देउवा, राजा वीरेन्द्र लगायतबाट उच्चस्तरीय भ्रमण भएको थियो । अहिले हुने भनिएको प्रधानमन्त्रीको भ्रमण कहिले हुने र एजेन्डा के हुने भन्ने तय भइसकेको छैन ।’

प्रतिक्रिया दिनुहोस्