एसपीपीमा सहभागी हुन सेनाले अमेरिकालाई लेखेको पत्र संसद्मा पुग्यो
काठमाडौं, असार २ । अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा संलग्न हुन नेपाली सेनाले अमेरिकालाई लेखेको चिठी संसद्मा पुगेको छ।
नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले बिहीबारको प्रतिनिधिसभा बैठकमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एसपीपीमा संलग्न हुनका लागि लेखेको चिठी बाचन गरेका छन्।
‘एसपीपी ठिक हो कि होइनरु कसले गरो, कसले गरेन भनेर संसद्मा छलफल भइरहेको छ। बाहिर यसबारे छलफल गर्न सकिएला, चुनावी भाषणमा आरोप लगाउन सकिएला। तर, सभामुख र सांसदहरुका सामुन्ने प्रमुख प्रतिपक्षी दलका जिम्मेवार नेताहरुले झुट बोलिरहँदा हामीलाई उकुसमुकुस भएको थियो,’ उनले भने, ‘२०१५ अक्टोबरमा केपी ओली प्रधानमन्त्री बन्नुभयो। त्यो बेला प्रधानमन्त्री र रक्षामन्त्री आफैं हुनुहुन्थ्यो। २७ अक्टोबरमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले लेखेको त्यो चिठीमा एसपीपीमा सहभागी हुन पाउँ भन्नुभएको छ। यसैगरी २०१७ हुँदै ६ डिसेम्बर २०१९ मा स्वीकार हुन्छ।’
उनले त्यसपछि सेनाको क्षमता विकास र विपद्मा सहयोग र तालिम सञ्चालन भइरहेको बताए।
‘सेनाको क्षमता विकास, विपद्मा सहयोग र तालिम सञ्चालन भइरहेको छ। प्रमुख प्रतिपक्षीले यसरी संसद्लाई भ्रममा राख्नु संसदीय मूल्यमान्यता विपरीत हो,’ उनले भने। तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई पत्र लेख्दै नेपाल सरकारका तर्फबाट आधिकारिक रुपमा नेशनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी) सहभागी हुन अनुरोध गरेको पत्र बिहीबार सार्वजनिक भएको थियो।
प्रतिक्रिया दिनुहोस्