ओलीकै पालामा एसपीपीमा सहभागी हुन सेनाले लेखेको पत्र सार्वजनिक, के छ पत्रमा  ?

काठमाडौं, असार २ । स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) मा साझेदारीका लागि नेपाली सेनाले अमेरिकालाई पत्र पठाएको खुलासा भएको छ ।

सन् २०१५ अगस्ट २७ मा तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेर पत्र पठाएको खुलासा भएको हो ।

स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) का विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवासँग जवाफ मागिरहेका बेला यसबारे केपी ओली प्रधानमन्त्री हुँदै सेनाले लेखेको पत्र फेला परेको हो ।

नेपाली सेनाले एसपीपीमा सामेल हुन सन् २०१५ मा पठाएको पत्र सार्वजनिक भएको हो। सन् २०१५ को अक्टोबर २७ (२०७२ कात्तिक १० गते) तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले एसपीपीमा सामेल हुन नेपालस्थित अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई पत्र लेखेका थिए। उक्त पत्रमा नेपाल सरकारका तर्फबाट आधिकारिक रुपमा नेशनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम ९एनजीएसएसपी० सहभागी गराउन आग्रह गरेका छन्।

ओली प्रधानमन्त्री भएको करिब १५ दिनपछि नेपाली सेनाले पत्र पठाएको थियो। ओली २०७२ असोज २५ गते पहिलो कार्यकालमा प्रधानमन्त्री बनेका थिए।

यसअघि नेपाली सेनाले एसपीपी सम्झौताको प्रक्रियामा नेपाली सेना सहभागी नभएको र नहुने दावी गर्दै आएको थियो । तर बिहीबार सेनाले पठाएको पत्र सार्वजनिक भएसँगै नेपाली सेनाले दावी खण्डित हुन पुगेको छ । एसपीपीमा नेपालको संलग्नता नभएको सरकार र सेनाको दावी भइरहेका बेला सेनाले पठाएको पत्र नै सार्वजनिक भएपछि यो विषयमा नयाँ ट्वीस्ट आएको छ ।

बुधबार साँझ मात्रै नेपाली सेनाले विज्ञप्ति जारी गर्दै एसपीपी सम्बन्धी कुनैपनि सम्झौता र समझदारी नभएको दावी गरेको थियो । बिहीबारै प्रतिनिधि सभामा गृहमन्त्री बालकृष्ण खाँणले पनि सरकार एसपीपीमा सहभागी नभएको र नहुने बताएका थिए । तर एसपीपी सम्झौताका लागि अमेरिकालाई एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएपछि पत्र पठाएको देखिन्छ ।

पछिल्ला केही दिन नेपाली राजनीति एसपीपीका कारण तातेको छ। सरकारले एसपीपीमा हस्ताक्षर गर्न लागेको दाबी गरिएको छ।

बुधबार अमेरिकी दूतावासले पत्रकारहरुसँगको कुराकानीमा नेपालले सन् २०१५ र सन् २०१७ मा एसपीपीमा सहभागी हुन पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले स्वीकार गरेको बताएको थियो। तर बुधबार नेपाली सेनाले एसपीपीमा सहभागी हुन पत्राचार नगरेको दाबी गरेको थियो।

बिहीबारमात्रै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली प्रधानमन्त्री हुँदा एसपीपीमा सहभागी हुन सरकारका तर्फबाट कुनै प्रस्ताव नगरिएको दाबी गरेका थिए। एमाले र ओली नेतृत्वको तत्कालीन सरकारलाई बदनाम गराउने प्रयास भएको दाबी उनले गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्