विवाहको न्यूनतम उमेर १८ वर्ष बनाइँदै
काठमाडौं, आसर १ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विवाहको न्यूनतम उमेर २० वर्षबाट घटाउन कानुन संशोधन प्रक्रिया थालिएको जानकारी दिएका छन्।
विवाहको न्यूनतम उमेर २० वर्ष राख्दा अपराध बढेको र बाल विवाहमा सजाय भइरहेको भन्दै कानुन संशोधन कार्य सुरु भएको मन्त्रीले जानकारी दिएका हुन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका लागि विनियोजन गरिएको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले उक्त कुराको जानकारी दिएका हुन्।
उनले भने, ‘विवाहको न्यूतम उमेर १८ वर्ष बनाउनेबारे अध्ययन भइरहेको छ। १६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्न पाउँछ, २० वर्षमा विवाह भन्ने कानुन छ। विवाह गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्यान्डर्डले देखाउँदैन। यसले बरु अपराध बढाउने काम भइरहेको छ।’
कांग्रेस सांसद पुष्पा भुसालले विवाह गर्ने उमेर २० वर्षबाट १८ वर्षमा झार्नेबारे के काम भइरहेको छ भनेर सोधेको प्रश्नको जवाफमा मन्त्री शर्माले भने, ‘यो कानुनमा संशोधन गर्नुपर्छ। कानुन मन्त्रालयले संशोधनको प्रक्रिया थालिसकेको व्यहोरा अनुरोध गर्न चाहन्छु।’
प्रतिक्रिया दिनुहोस्