गाँजा बेचेर वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिन्छ : एमाले सांसद तामाङ
काठमाडौँ , जेठ २९ । प्रमुख प्रतिपक्षी नेकपा ( एमाले)का सांसद शेरबहादुर तामाङले गाँजा बेचेर राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले यस्तो बताएका हुन् ।
एचआईभी एड्स रोगका बिरामीहरूको दीर्घ जीवनको औषधि नै गाँजा भएको उनले दाबी गरे ।
गाँजाका गुण बताउँदै उनले नेपालको स्वास्थ्य क्षेत्र र ऋण तिर्नका लागि उत्पादन र बिक्री वितरण खुला गर्नुपर्ने माग समेत गरे ।
बैठकमा स्वास्थ्य तथा जनसंख्या लगायतका मन्त्रालयको लागि विनियोजित बजेटमा खर्च कटौतीको प्रस्ताव राख्दै पूर्वमन्त्रीसमेत रहेका सांसद तामाङले गाँजाबारे उक्त दाबी गरेका हुन् ।
नेपालमा गाँजाबाट बनेको औषधि नपाएर एड्स लागेका व्यक्तिहरू आमरण अनशन बस्न लागेको पनि तामाङको भनाइ रहेको थियो ।तत्कालका लागि गाँजालाई औषधिका रूपमा प्रयोग गर्न दिनुपर्ने उनको माग रहेको छ ।
तामाङले गाँजा बेचेर राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने पनि दाबी गरेका छन् । गाँजाबारे आफूले उठाएको विषयलाई गम्भीर रूपमा लिन उनले आग्रह समेत गरेका छन् ।
सांसद तामाङले गाँजालाई वैधानिक बनाउनुपर्ने भन्दै यसअघि संसद् सचिवालयमा गैरसरकारी विधेयक दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्