एमालेको प्रश्न: ‘देउवाको अमेरिका भ्रमण प्रधानमन्त्री कि रक्षामन्त्री हैसियतमा हुँदैछ ?’
काठमाडौं, जेठ २९ । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग गरेका छन् ।
प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारी दुवै देशका सैन्य निकायबाट भइरहेको भन्दै ज्ञवालीले कुन हैसियतमा भ्रमणमा जान लागेको भन्ने तथ्य संसदलाई जानकारी गराउन मागसमेत गरेका हुन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा एमालेका सांसद ज्ञवालीले भ्रमणको व्यवस्थापनमा दुवै देशका परराष्ट्र सम्बन्धसँग सम्बन्धित निकाय सक्रिय नभएर रक्षा तथा सेनासँग सम्बन्धित निकाय सक्रिय भएकोप्रति पनि ज्ञवालीले आशंका व्यक्त गरे ।
सत्तापक्षको एउटा घटकको प्रमुख सचेतकले प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गरियोस् भन्ने तहसम्म प्रश्न उठाउनु सामान्य नभएको भन्दै उनले भने, ‘सत्ता गठबन्धनमा रहेको असझदारी र विवाद मात्रै हो भनेर बुझ्ने या यो भ्रमणसँग जोडिएका केही अत्यन्त महत्वपूर्ण विषयहरु छन्, जससँग सत्ता घटकहरुबीच छलफल चलिरहेको छ र त्यो विषयलाई उठाउनुपर्ने आवश्यकता प्रमुख सचेतकले बोध गर्नुभयो ।’
प्रधानमन्त्रीको भ्रमणको औचित्य पुष्टी गर्न माग गर्दै ज्ञवालीले परराष्ट्र सम्बन्धका आधारहरु नभत्काउन माग गरे । ‘नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा हाम्रो परराष्ट्र सम्बन्धको मूल आधार हुन जरुरी छ । यससँग बाँझिने गरी तालिम वा अरु कुनै नाममा विदेशी सेनाको उपस्थिति हाम्रो संविधानले स्वीकृति दिदैन । नेपाललाई कुनैपनि अर्थमा भूराजनीतिक द्वन्द्वको थलो बनाइनु हुँदैन’, ज्ञवालीले भने ।
प्रतिक्रिया दिनुहोस्