गैरआवासीय नेपाली संघका प्रतिनिधिहरुले भेटे प्रधानमन्त्रीलाई , के भयो कुराकानी ?

काठमाडौँ , जेठ २८ । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कूल आचार्य र अध्यक्ष डा। बद्री केसीसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको हो ।

प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवासँग भेट गर्दै संस्थाको कार्याशालामा प्रमुख अतिथिका लागि निम्तो समेत दिएको छ । निम्तोपछि प्रधानमन्त्री देउवाले धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यतालिका हेरेर उपस्थित हुने जानकारी गराउने गराउने बताएका थिए ।

भेटघाटका क्रममा कार्यकारी अध्यक्ष आचार्य र अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीहरुको लगानी, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, विदेशमा बस्ने नेपालीहरुको मताधिकारका विषयका साथै म्यानमार र थाईल्याण्डमा रहेका नेपालीहरुको पहिचानको समस्याबारे प्रधानमन्त्रीलाइृ जानकारी गराएका थिए । उनीहरुले गैरआवासीय नेपाली परिचय पत्र उपलब्ध गराउन समेत अनुरोध गरेका छन् ।

यस्तै अध्यक्षद्वयले नेपाल सरकारले पेश गरेको नीति, कार्यक्रम तथा बजेटमा गैरआवासीय नेपाली संघले उठाउँदै आएका धेरैजसो विषयहरु सम्बोधन भएकोमा नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गरेका थिए । यसै सन्दर्भमा प्रधानमन्त्री देउवाले प्रतिनिधि मण्डलले उठाएका विषयहरुमा चासो लिदै त्यस विषयहरुप्रति नेपाल सरकार सकारात्मक रहेको बताएका थिए ।

गैरआवासीय नेपाली संघले यही आउने १६ जुन २०२२ का दिन गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीहरुको लगानी, वैदेशिक रोजगारलगायत विषयमा एक दिने प्रत्यक्ष तथा जुम प्रविधिमार्फत कार्यशाला आयोजना गर्दैछ । सो कार्यशालामा नेपाल सरकार सम्बन्धित मन्त्रालयहरु, राजनीतिक दलहरु र सरोकारवालाहरु सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्