पोखरेल भन्छन्- एमालेको प्रतिस्पर्धी कांग्रेस मात्रै हो, माओवादीको अस्तित्व छैन
काठमाडौं, जेठ २८ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको प्रतिस्पर्धी नेपाली कांग्रेस मात्रै रहेको बताएका छन् ।
एमालेबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै महासचिव पोखरेलले नेकपा माओवादी केन्द्रको कुनै अस्तित्व नै नभएको टिप्पणी गर्दै आफुहरुको प्रतिस्पर्धी कांग्रेस मात्रै भएको बताएका हुन् ।
उनले भने, ‘माओवादी केन्द्रले विगतमा भन्दा सिट संख्या बढाएको छ। तर, उसको जनमत घटेको छ। ७४ सालको निर्वाचनमा उसले १७ प्रतिशत मत प्राप्त गरेको थियो । आज त्यो जनमत १३ प्रतिशत छ।
माओवादी अब वामपन्थी आन्दोलनको रूपमा नरहेको समेत उनले बताए । स्थानीय तहको निर्वाचनको परिणामले माओवादी अस्तित्व रक्षाको लागि कुनै शक्तिसँग टाँसिनुपर्ने बाध्यता खडा भएको प्रष्ट भएको उनले बताए । पोखरेलले एकीकृत समाजवादीको नाममा बाहिरिएका नेताहरूले वामपन्थी आन्दोलनमा भूमिका खेल्न नसक्ने पनि टिप्पणी गरे ।
माओवादी र समाजवादीको अस्तित्व नभएकाले एमालेको प्रतिस्पर्धी कांग्रेस मात्रै भएको उनको दावी छ । पोखरेलले यस पटकको नतिजामा देशव्यापी रूपमा एमालेले अपेक्षाअनुसार नतिजा नल्याएको बताएका छन् ।
‘देशव्यापी रूपमा परिणाम अपेक्षा गरेअनुसार भएन । गएको निर्वाचनका भन्दा प्रतिकुल भए,’ उनले भने,‘हामी ज्यादा आशावादी थियौँ । त्यो अपेक्षा अनुसार परिणाम प्राप्त भएन ।’ यद्यपि जे जति जितिएको छ, त्यसमा राम्रो काम गरे पार्टीलाई फाइदा पुग्ने महासचिव पोखरेलले बताए ।
प्रतिक्रिया दिनुहोस्