स्थानीय निर्वाचनको परिणामलाई हार-जीतको रूपमा मात्र लिन हुँदैन : प्रचण्ड

काठमाडौं, जेठ २८ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तह निर्वाचनको परिणामलाई हार(जीतको रूपमा मात्र लिन नहुने बताएका छन् ।

माओवादी केन्द्रबाट नव निर्वाचित गण्डकी प्रदेशका जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रमको शनिबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले अघिल्लो स्थानीय तहका निर्वाचितलाई आफ्नो तरिकाले चल्न दिइए पनि अब भने पार्टीको नीति, सिद्धान्त र जनअपेक्षाअनुरुप चल्नुपर्ने बताए ।

जनयुद्धबाट हासिल उपलब्धि समाप्त पार्ने षड्यन्त्र बरोबर भइरहेको उल्लेख गर्दै संघीयता, गणतन्त्र र नेपालको संविधान रक्षाका लागि सधैं सचेत हुनुपर्ने उनको भनाइ थियो ।

विगतमा केपी ओलीले संसद नै विघटन गरेर उपलब्धि समाप्त पार्न खोेजेको आरोप लगाउँदै उनले अहिलेको चुनावसहित आगामी चुनावमा समेत गठबन्धन गरेरै अघि बढ्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

प्रशिक्षणमा माओवादी नेता नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, देव गुरुङ लगायतले प्रशिक्षण दिनेछन् । गण्डकी प्रदेश सरकारले स्थानीय तह चुनावमा प्रदेशका ८५ पालिकाका प्रमुख उपप्रमुखहरूको लागि शुक्रबारदेखि आयोजना गरेको प्रशिक्षण अवसरमा माओवादीले आफ्ना पार्टीका जनप्रतिनिधिलाई पनि प्रशिक्षण दिएको हो ।

प्रतिक्रिया दिनुहोस्