भित्ता काटेर आँबुखैरेनी-मुग्लिन खण्ड एकतर्फी सञ्चालन, चार दिन ठूला गाडी चलाउन रोक
काठमाडौं, जेठ २७ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४, साँखर ड्याममा सडक भाँसिएपछि अवरुद्ध राजमार्ग एकतर्फी खुलाइएको छ । शुक्रबार बिहान करिब पौने ५ बजेदेखि ठप्प भएको राजर्मा दिउँसो १ बजेपछि एकतर्फी रुपमा चालु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सडकको कुनातर्फ भित्ता सामान्य रुपमा जेसिबीले काटेर फालेपछि साना सवारी पास भएको छ । ठूला सवारी साधनलाई भने प्रवेश गराइएको छैन । सडक विभागले भित्तातर्फको भाग काटेर साना सवारी पास हुने व्यवस्था गरेको हो । तर, यो सडक खण्डमा ठूला सवारी पास हुन करिब ४ दिन लाग्ने जनाइएको छ । विभागका महानिर्देशक अजुर्नजंग थापाका अनुसार सडक भासिएको ठाउँमा ठाडो भीर छ । जहाँ कडा चट्टान भएकाले भित्तातर्फको भाग काटेर सडक बनाउनु पर्ने अवस्था छ ।
‘हामीसँग यस्तो अवस्थामा छिटो काम गर्ने प्रविधि छैन, अब ठूला बस ट्रक पास हुन करिब ३ देखि ४ दिन लाग्छ,’ उनी भन्छन्, ‘भित्तातर्फको भाग काटेर बाटो दुईतर्फी चलाउँछौं ।’ सडक भाँसिदा बा १० च ४६७९ नम्बरको कार, ग १५ प २९५३ नम्बरको मोटरसाइकल, बा ३३ प १०८१ नम्बरको मोटरसाइकल खसेर बेपत्ता भएका छन् । घटनामा दुई पुरुषको शव भेटिएको छ ।
मृतकमध्ये एक जनाको पहिचान खुलेको छ । उनी गोरखा सिरानचोक गाउँपालिका-५, स्थायी घर भई हाल जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका-२ बस्ने ३५ वर्षीय केशव घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनका अनुसार अर्को शवको हालसम्म सनाखत हुन सकेको छैन । शवलाई अहिले जिल्ला अस्पताल दमौलीमा ल्याइएको छ । बा ३३ प १०८१ नम्बरको मोटरसाइकल बेपत्ता भए पनि चालक र मोटरसाइकलमा सवार व्यक्ति सकुशल रहेको प्रहरीको भनाइ छ ।














प्रतिक्रिया दिनुहोस्