आईजीपीद्वारा विश्वराज पोखरेलको बिदा अस्वीकृत
काठमाडौं, जेठ २५ । नेपाल प्रहरी महानिरीक्षक ( आईजीपी)ले एआईजी विश्वराज पोखरेलको बिदा अस्वीकृत गरेका छन् । यसअघि लिएको बिदा सकिएपछि पुनः बिदाका लागि निवेदन दिएका पोखरेलको बिदा आईजीपी धीरजप्रताप सिंहले अस्वीकृत गरेका हुन् ।
पोखरेलले बुधबार प्रहरी प्रधान कार्यालयमा सहयोगी पठाएर बिदाका लागि निवेदन बुझाएका थिए । सम्बन्धितले बिदा माग्नुपर्ने नियमअनुसार सिंहले पोखरेलको बिदा अस्वीकृत गरेर घर ठेगानामा जानकारी गराउन निर्देशन दिएका छन् । प्रहरी प्रवक्ता विष्णु केसीले बिदा अस्वीकृत भएको पुष्टि गर्दै घर ठेगानामा जानकारी गराउन निर्देशन दिएको बताए ।
आईजीपीको दाबेदार पोखरेल आईजीपी हुन नपाएपछि गत वैशाख १९ देखि बिदामा थिए । हालैको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मानव स्रोत विभागबाट प्रदेश समन्वय विभागमा सरुवा भएका उनलाई मनसुनको मौसममा बिदा दिनु पनि अनुपयुक्त हुने आईपीपीको निष्कर्ष छ ।
आईजीपी नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर गरेका विश्वराजको मुद्दा विचाराधीन अवस्थामा छ ।
प्रतिक्रिया दिनुहोस्