झडपपछि बन्चरेडाँडा पुग्न सकेनन् ट्रक, फोहोर बोकेर काठमाडौं नै फर्किए

काठमाडौं, जेठ २५ । स्थानीयवासी निरन्तर प्रतिरोधमा उत्रिएपछि बुधबार फोहोर बोकेर गएका ट्रक बन्चरेडाँडा पुग्न सकेनन्।

प्रहरी खटाएर सुरक्षा दिँदै लगिएका ट्रकलाई सयौँ स्थानीयबासीले सडकमाथिबाट ढुंगामुढा गरेर प्रतिरोधमा उत्रिएका थिए।

फोहोरका गाडीलाई सुरक्षा दिन बन्चरेडाँडा क्षेत्रमा दुई सयभन्दा धेरै प्रहरी तैनाथ भएका थिए।काठमाडौंमा थुप्रिएको फोहोर बोकेर पुगेका ट्रक बुधबार बन्चरेडाँडा पुग्नै सकेनन्।

स्थानीयबासी प्रतिकारमा उत्रिएपछि सुरक्षामा खटिएका प्रहरीले दुई राउन्ड अश्रु ग्यास पनि हानेका थिए।

त्यसक्रममा सडकमाथि उक्लिएका स्थानीयले ढुंगामुढा गर्दा तीनजना प्रहरी घाइते भएका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।

फोहोर बोकेका गाडी बन्चरेडाँडा पुग्न नपाएपछि अहिले त्यहाँ काठमाडौंबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली पठाइएको छ।

बन्चरेडाँडामा फोहोर लैजानका लागि यसअघि सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको उपस्थितिमा काठमाडौं महानगरपालिका तथा धादिङको धुनीबेंसी नगरपालिका र नुवाकोटको ककनीका जनप्रतिनिधिबीच सम्झौता भएको थियो।

तर त्यो सम्झौता वार्तामा आफूहरूलाई सहभागी नगराएको भन्दै स्थानीयबासी प्रतिकारमा उत्रिएका हुन्। उनीहरुले फोहोर बिसर्जन गर्ने भए १० अर्ब रुपैयाँ मुआब्जा दिनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्