काठमाडौंको फोहोर व्यवस्थापनको नेतृत्व लिन देउवालाई गगनको आग्रह
काठमाडौं, जेठ २५ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंलाई फोहोरमुक्त बनाउने अभियानमा विशेष पहलकदमी लिइदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै काठमाडौं क्षेत्र नम्बर ४ का सांसदसमेत रहेका थापाले सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मात्रै यहाँको फोहोरको व्यवस्थापन गर्न नसक्ने पनि बताए।
त्यसका लागि आवश्यक स्रोत, साधनको व्यवस्था गर्न, आवश्यक कानुनी प्रबन्ध मिलाउने काममा विशेष पहल गरिदिन प्रधानमन्त्री देउवासँग थापाले भनेका हुन्।
उनले यो अभियानमा साथ दिन काठमाडौं महानगरपालिकाका सबै वडाका जनप्रतिनिधि र महानगरबासीसँग पनि अपिल गरेका छन्।
महानगरबासीले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै रुपमा राखिदिन र त्यहाँका जनप्रतिनिधिले आवश्यक सूचना पुर्याउन सके मात्रै काठमाडौंलाई फोहोरमुक्त बनाउने अभियान सफल हुने महामन्त्री थापाले बताए।
‘काठमाडौंको फोहोर व्यवस्थापनको सन्दर्भमा सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाको काममा मद्दत गर्नु हामी सबैको कर्तव्य हो । तर कतिपय कुरा दुईटा निकायले मात्रै चाहेर गर्न सकिने अवस्था छैन । कति स्रोत साधनको कुरा गर्न, कानुन, नियमको गाँठो फुकाउन सम्माननीय प्रधानमन्त्रीज्यूले नै पहलकदमी लिनुपर्नेछ’, उनले भने, ‘यसका लागि म सम्माननीय प्रधानमन्त्रीजीलाई विशेष पहलकदमी लिन आग्रह गर्न चाहन्छु । सरकारले आफ्नो कर्तव्य पूरा गरेसँगै हामी नगरबासीले पनि केही कामहरु गर्नुपर्नेछ। यसका लागि श्रावण १ गतेबाट स्रोत मा नै कुहिने र नकुहिने अनिवार्य छुट्याउन महानगरपालिकाले अपिल गरेको छ।’
उनले काठमाडौं महानगरवासी र सांसद पनि भएका नाताले फोहोरमुक्त काठमाडौं बनाउने अभियानमा साथ दिन पनि महानगरबासीलाई अनुरोध गरे।
यो कार्यक्रमलाई सफल बनाउन काठमाडौं महानगरपालिकसँग जोडिएका अन्य नगरहरुले पनि काम गर्नु पर्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस्