सरकारले मल होइन, माल खोजेको छ : योगेश भट्टराई
काठमाडौं, जेठ २५ । नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले मल ल्याउन समस्या नभए पनि अहिलेको सरकारले भने मल ल्याउन नै नखोजेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा उनले यस्तो आरोप लगाएका हुन्।
‘यो सरकारले मल ल्याउन खोजेको छैन। मलमा माल खोजेको छ। माल नआउन्जेल मल आउनेवाला छैन। हामीले मल खोजेका हौं, मालको पछाडि लाग्न खोजेका होइनौं,’ उनले भने।
भट्टराईले बालीनाली लगाउने बेला मलको हाहाकार भइरहेको भन्दै मल ल्याउन भनी भारत गएका कृषिमन्त्री मल नपाएर उतै निर्वासित हुनुभयो कि भन्ने आशंका निम्तिएको बताए।
‘बालीनाली लगाउने बेला भइसकेको छ। मलको हाहाकार छ। हामीले सुनिरहेका छौं मल खोज्न कृषिमन्त्री भारततिर जानुभएको छ। कहाँ पुग्नुभयो? उहाँको हालखबर के छ?,’ उनले भने, ‘मल लिएर आउनुहुन्छ कि आउनुहुन्न? मल नपाएर कृषिमन्त्री थकित भएर उतै निर्वासित हुनुभयो कि भन्ने आशंका पनि छ।’















प्रतिक्रिया दिनुहोस्