काठमाडौँ उपत्यकामा पाँच सय वर्ग मिटरभन्दा कम जग्गाको खण्डीकरण गर्न नपाइने

काठमाडौँ, जेठ २४ । काठमाडौँ उपत्यकाभित्र पाँच सय वर्ग मिटरभन्दा कम क्षेत्रफल भएका कुनै पनि जग्गाको खण्डीकरण गर्न नपाइने भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार अब काठमाडौँ उपत्यकाभित्र पाँच सय वर्ग मिटरभन्दा कम क्षेत्रफल भएका कुनै पनि जग्गाको खण्डीकरण गर्न नपाइने भएको हो ।

सहरी तथा सहरोन्मुख क्षेत्रमा खाली जग्गा देख्नेबित्तिकै प्लटिङ गर्ने र घडेरीका रुपमा बिक्री वितरण गर्ने क्रम अत्यधिक रुपमा बढेपछि सरकारले त्यसलाई रोक लगाउने भएको हो ।

जग्गा कारोबारीले जस्तासुकै जग्गा पनि कागज मिलाएर खण्डीकरण गर्ने, अत्यधिक मूल्य लिएर बिक्री वितरण गर्ने गरेको पाइएपछि मन्त्रालयले उक्त निर्णय गरेको हो ।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार नयाँ व्यवस्था लागू भएपछि काठमाडौँ उपत्यकाभित्र अत्यधिक मात्रामा बढ्दै गएको जग्गाको खण्डीकरण रोकिनेछ । काठमाडौँ उपत्यका, तराई र भित्री मधेस बाहेकका भूभागमा भने एक हजार वर्ग मिटरभन्दा कमका जग्गा प्लटिङ गर्न पाइने छैन।

आवासीय क्षेत्रका रुपमा वर्गीकरण गरिएको जग्गाको हकमा पनि नियमावलीमा अर्को व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्