राष्ट्रियसभाको शून्य समयमा बलात्कारीलाई कारबाहीदेखि बर्दियाका गोली काण्डसम्मका प्रसङ्ग

काठमाडौं , जेठ २४ । राष्ट्रियसभा सदस्यहरूले विभिन्न समसामयिक विषयमाथि सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको राष्ट्रिय सभाको शून्य समयमा सांसदहरूले विभिन्न समसामयिक विषयवस्तुमाथि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले कैदीबन्दीलाई राख्ने गरेको कारागार अत्यन्तै जीर्ण र जोखिममा रहेकोले कुनै पनि घटना हुनुभन्दा अघि त्यतातिर ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपालमा आयोनुनमा आयोडिनको मात्रा अत्याधिक बढी रहेकोप्रति नागरिकहरू त्रसित रहेकोले वास्तविकता जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले बर्दियामा बाघले आक्रमण गरेर मृत्यु हुने क्रम बढिरहेकोले त्यसप्रति सुरक्षा माग गर्दा सरकार पक्षद्वारा गोली चलाइएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले कर्णाली प्रदेशका उच्च पहाडी क्षेत्रमा हावा चल्नासाथ बिजुली र सञ्चार टावर टुट्ने समस्याको समाधानका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रियसभा सदस्य राधेश्याम पासवानले सरकारले तत्काल रगतमा गरेको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले सरकारले बलात्कारजस्ता घटनामा गम्भीर चासो नदिएको आरोप लगाउँदै महिला हिंसा सरकारको पहिलो प्राथमिकतामा हुनुपर्ने बताउनुभयो ।

त्यस्तै, राष्ट्रियसभा सदस्य सुमित्रा बिसीले महिला हिंसाविरुद्धका कडा कानून छिटो ल्याउन माग गर्नुभयो । उहाँले बाँकेको राप्तीस्थित सोनारी गाउँपालिकाकी १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्नेहरूलाई तत्काल कडा कारबाही गर्न माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्