कुनै पनि बेला देशभरका १३ ठाउँमा इन्टरनेट बन्द हुन सक्ने

काठमाडौं, जेठ २४ । इन्टरनेट सेवा प्रदायक संघ ( इस्पान)ले देशभरका १३ ठाउँमा कुने पनि बेला इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएको छ।

नेपाल विद्युत् प्राधिकरणले जथाभावी बिजुली काटिरहेको भन्दै १३ स्थानमा इन्टरनेट सेवा बन्द गर्नुपर्ने अवस्था आएको बताएको हो।

ती १३ स्थानमा इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, दुवही, लहान, डोटी, भैरहवा, टाँडी, विराटचोक र रंगेली रहेका छन्।

प्राधिकरणले लाइन काट्दा ब्याकअप सिस्टमबाट इन्टरनेट चलिरहे पनि कुनै पनि बेला बन्द हुनसक्ने जनाइएको छ।

प्राधिकरण र व्यवसायीबीच बिजुलीको पोल प्रयोग गरेबापतको भाडालाई लिएर विवाद चलिरहेको छ। व्यवसायीहरुले पोलको भाडा तिर्न तयार रहेको तर त्यो सरकारको उच्चस्तरीय समितिको प्रतिवेदनअनुसार हुनुपर्ने माग गर्दै आएका छन्। उक्त प्रतिवेदन कार्यान्वयन नगरेको भन्दै व्यवसायीहरुले विरोध गर्दै आएका छन्।

प्राधिकरणले गैरकानुनी ढंगले आफ्ना इन्टरनेट प्वाइन्ट, डेटा सेन्टर, पीओपी र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा घरबेटीसमेतको विद्युत् लाइन काटिरहेको व्यवसायीको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्