यौनहिंसा निरुत्साहन गर्न आवश्यक कानुन संशोधन गर्छौं : गृहमन्त्री खाँण
काठमाडौं, जेठ २४ । पछिल्लो समय बलात्कार लगाएत यौनहिंसाका घटनामा बृद्धि भइरहेका छन्।
यसको विरुद्धमा आमजनताको आवाज उठि रहेको छ । बलात्कार तथा यौन हिंसाको घटना घट्नु पर्नेमा झन बढिरहेको भन्दै सरकारमाथि प्रश्न समेत खडा भएको छ ।
यसैबीच गृहमन्त्री बालकृण खाँणले यौन हिंसालाई निरुत्साहन गर्न यस सम्बन्धी कानुनहरुलाई संशोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री खाँणले बलात्कार तथा यौन हिंसाको घटनाले प्रश्रय पाउन नहुने पनि बताए ।
उनले यौन हिंसालाई निरुत्साहन गर्न तथा बलात्कारमा प्रताडित भएका नारीहरुलाई सम्मानजनक जीवन जिउनका लागि आवश्यक पर्ने कानुनी प्रावधानहरुलाई संशोधन गर्न सरकार सकारात्मक रहेको बताए।
उनले बलात्कारका घटनामा संलग्न पीडकलाई हदैसम्मको सजायको माग गरिने पनि उल्लेख गरे।
उनले सांसदहरुले भनेजस्तै यौनहिंसालाई कसरी निरुत्साहन गर्ने, बलात्कार र सामूहिक बलात्कारमा प्रताडित भएका नारीहरुलाई सम्मानजनक जीवन जिउनका लागि वातावरण तयार गर्नुपर्ने त्यसका लागि आवश्यक प¥यो भने अहिलेको कानुनी प्रावधानहरुलाई संशोधन गर्नुपर्ने भनी उठेका आवाजप्रति सकारात्मक रहेको बताए।
उनले बाँके जिल्लाको राप्ती सोनारी निवासी १६ वर्षकी युवतीमाथि ७ जना युवाहरुले सामूहिक बलात्कार गरेको घटनाको सम्बन्धमा आरोपीहरुलाई पक्राउ गरी आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
मन्त्री खाँणले यौनहिंसाको सम्बन्धमा विद्यालयको पाठ्यपुस्तकमै राखेर हिंसाबाट बच्न र हिंसा भएमा कानुनी कारबाही हुने बारेमा जानकारी दिइनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस्