भूसालमाथि कारबाही सिफारिस पार्टी कमिटीमा छलफल गरेर निर्णय लिन्छौं : ईश्वर पोखरेल

काठमाडौं , जेठ २४ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भुसाललाई अनुशासन आयोगले कारबाही सिफारिस गरेको सम्बन्धमा पार्टी कमिटीमा छलफल गरेर निर्णय लिइने बताएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले भुसाललाई कारबाहीका लागि सिफारिस गरिनु पार्टीको आन्तरिक एजेण्डा भएको बताएका हुन् । उनले सो विषय पार्टीको सम्बन्धित कमिटीमा आउने र छलफलपश्चात निर्णय लिइने बताए ।

त्यस्तै, सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ एमालेका केन्द्रीय सदस्य तथा सांसद झपट रावलले पार्टी भित्रका कमी कमजोरीहरुलाई समिक्षा गरेर एकतावद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

पार्टीको आन्तरिक अवस्था सुदृढ नभएमा पार्टी बलियो हुन नसक्ने उनको भनाइ रहेको छ । कोहीपनि आवेग र उत्तेजनामा नआई पार्टीलाई एकढिक्का बनाउनुपर्ने उनको सुझाव छ ।

एमालेमाथि चौतर्फी आक्रमण भइरहेको उल्लेख गर्दै सो कुरा पार्टी पंक्तिले नबुझेमा प्रतिक्रियावादी शक्तिहरुलाई सहयोग गरेको ठहरिने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्