निर्वाचन अधिकृत मरासिनीद्वारा बालिकाको अभिभावकत्व ग्रहण
काठमाडौँ । स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोक स्थित मण्डन देउपुर नगरपालिकामा खटिनु भएकी निर्वाचन अधिकृत शान्ता नेपाल मरासिनीले स्थानीय आठ वर्षिया बालिका आरुषि ढकालको अभिभावकत्व ग्रहण गर्नु भएको छ ।
मण्डन देउपुर नगरपालिका–५ बस्ने बालिकालाई विद्यालयमा अध्ययनका साथै अन्य खर्चमा सहयोग उपलब्ध गराउनु हुने भएको हो ।
उद्योग मन्त्रालयमा उपसचिव समेत रहनु भएकी मरासिनीले सामाजिक उत्तरदायित्व वहन गर्ने सन्दर्भमा अभिभावकत्व लिएको बताउँदै नारी शिक्षित र सक्षम भएमा उनीहरु माथि हुने हिंसा न्यूनीकरण भई शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।
सम्पन्न वर्ग, समुदायले आर्थिक अवस्था कमजोर भएका तथा राज्यको मुलधारमा आउन नसेकेका विपन्न परिवारलाई स–सानो सहयोग उपलब्ध गराउने प्रवित्तीको विकास भएमा सामाजिक रुपान्तरण संभव हुने उहाँले बताउनुभयो ।
उक्त नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख टोकबहादुर तामाङ, उपप्रमुख विष्णुमणि नेपाल, वडाअध्यक्ष, जनप्रतिनिधि, प्रशासकीय अधिकृत डा. लोकबहादुर लोप्चन लगायतले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन मरासिनीले निर्वाह गरेको भूमिकाको सराहना गर्दै उहाँले सामाजिक सेवाको भावनाले बालिकाको अध्ययनका लागि गरेको अभिभावकत्व ग्रहणले धेरैलाई प्रेरणा प्रदान गर्ने विचार व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्