प्रचण्ड र बालेनबीच भेटवार्ता, यस्तो भयो कुराकानी
काठमाडौँ , जेठ २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता गरेका छन् ।
ललितपुरको खुमल्टारस्थित प्रचण्ड निवासमा भएको भेटवार्तामा बालेनले काठमाडौँ महानगरको समग्र विकासका सन्दर्भमा कुराकानी गरेका छन् । महानगरको विकासका सन्दर्भमा विभिन्न राजनीतिक दलका प्रमुखहरुसँग भेटवार्ता गर्ने क्रममा उनले आज प्रचण्डलाई भेट गरेका हुन् ।
भेटमा प्रमुख शाहले आफू स्वतन्त्र भएकाले सबै दलसँग काम गर्न सजिलो रहेको जानकारी दिँदै फोहर व्यवस्थापनलगायतका कामको थालनी भएको जानकारी गराएको प्रचण्डका प्रेस सहयोगी सूर्यकिरण शर्माले जानकारी दिए ।
प्रचण्डले माओवादी पार्टीले पनि युवालाई समेटेर अघि बढेको र यसपालीको स्थानीय तह निर्वाचनमा पनि युवाहरु नै बढी विजयी भएको जानकारी दिँदै युवाको विकास अभियानमा साथ र सहयोग रहने विश्वास व्यक्त गरेका थिए ।
भेटपछि प्रमुख शाहले प्रचण्डसँगको भेटमा आफूले विकासको काममा निरन्तरता दिने, विकासको एजेण्डा बोक्न सक्ने र दृष्टिकोण भएका व्यक्तिलाई राजनीतिमा ल्याउनुपर्ने आवश्यकता रहेको बताएको जानकारी दिए ।
यसअघि बालेनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्