प्रतिनिधिसभाको चुनाव मंसिरभित्रै हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं , जेठ २१ । सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर कि फागनुमा गर्ने भन्ने बहस चलिरहेका बेला प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादु देउवाले भने कात्तिक वा मंसिरभित्रै चुनाव हुने बताएका छन् ।

स्थानीय तह चुनावको परिणामको विषयलाई लिएर गठबन्धनका केही दलहरुबीच असन्तुष्टि बढिरहेका बेला यस्तो अवस्थामा चुनाव गरिहाल्दा राम्रो नतिजा नआउने भन्दै केही नेताहरुले फागुनमा चुनाव गर्नुपर्ने धारणा राखिरहेका छन् ।

यसका लागि कतिपय नेताहरुले चुनाव भएको मिति भन्दा पनि संसद्ले काम शुरु गरेको मितिबाट अहिलेको प्रतिनिधि सभाको कार्यकाल गणना हुने भन्दै तर्क गरिहेका छन् । यी सबै तर्क र प्रयासलाई प्रधानमन्त्री देउवाले अस्वीकार गरेका छन् ।

उनले चुनावका लागि आफूहरु सरसल्लाहमै रहेको बताउँदै कात्तिकमै गरे पनि हुने बताए । उनले भने, ‘ढिलो गर्‍यो भने झन् विवाद हुन्छ । गठबन्धन दलका नेताहरुसँग कुरा गरेर कात्तिक वा मंसिरमै चुनाव हुन्छ’ देउवाले भने ।
उनले अहिलेको चुनावी परिणाम राम्रो रहेको र आउँदो चुनावसम्म गठबन्धन कायम रहने पनि बताए । ‘जे गठबन्धन भने पनि नेपाल अब प्रतिस्पर्धात्मक नेपाल चुनाव प्रणालीमा गइसक्यो । यो खुल्ला लोकतन्त्रमा राम्रो कुरा हो । मलाई विश्वास छ यो गठबन्धन रहन्छ,’ उनले भने ।

गठबन्धनभित्र समस्या रहे पनि त्यस्ता समस्या समाधान हुने खालका रहेको उल्लेख गर्दै उनले समाधान गर्नका लागि दलहरुबीच छलफल गर्ने बताए । चुनावअघि गठबन्धन बनाउने विषयमा कांग्रेसभित्रै पनि खटपट थियो । अहिले त्यस्तो गठबन्धन बनाउने विषयमा पार्टीमा कुनै विवाद नरहेको देउवाले बताए ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्