प्रचण्ड र वैद्य सच्चिए एकता गर्न विप्लव तयार, धर्मेन्द्र र हेमन्तलाई पार्टीमा फर्कन आग्रह

काठमाडौं , जेठ २० । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष र नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ सच्चिएर आए एकताका लागि आफूहरू तयार रहेको बताएका छन्।

केन्द्रीय समितिको १३औँ पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन्।

‘प्रचण्डजीलाई पनि हामीले भनेका थियौँ, उहाँ एकताको कुरा गरिराख्नु हुन्छ। तपाई पुरानो ठाउँबाट फर्किनुस् न। तपाईहरु पुरानो ठाउँबाट फर्किनुस्। नेपाली जनतालाई पछाडीतिर धकेल्ने होइन। नेपाली जनतालाई अलमल र भुमरीको चक्करमा फसाउने होइन। निकासतिर, परिवर्तनतिर लैजाने गरी आउनुस्। हामी तयारै छौँ,’ विप्लवले थपे, ‘किरणजी आउनुस् हामी तयार नै छौँ। तपाईहरु पनि सुध्रिनुस्। तपाईहरु सुध्रिनु हुन्न भने तपाईहरुको अन्त्यलाई भगवानले पनि बचाउन सक्दैन भन्याजस्तै कुरा हो। हामी रुपान्तरित हुनुपर्छ। एक ठाउँमा जुट्नु पर्छ। सब एकतावद्ध बनौँ।’

उनले पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेका पूर्वसचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश वली ‘सुर्दशन’लाई पार्टीमा फर्किन आह्वान गरेका हुन्।

गल्ती स्वीकार गरेर आत्मआलोचना गरी पार्टीमा फर्किन विप्लवको आग्रह छ। बास्तोला र वलीले गठन गरेको पार्टीको डकुमेन्टमा कुनै नयाँ कुरा नभएको उल्लेख गर्दै उत्तेजना र कुण्ठाबाट क्रान्ति नहुने उनको भनाइ छ। महासचिव विप्लवले नेपालको क्रान्तिकारी आन्दोलनलाई गोलबन्द गर्न सबैले ध्यान दिनुपर्ने बताउँदै कमीकमजोरीहरु सच्याएर फर्कन आग्रह गरेका हुन्।

नेपाल कम्युनिस्ट पार्टीले आगामी असोज १ गतेदेखि ८ गतेसम्म काठमाडौंमा नवौँ महाधिवेशन गर्ने भएको छ। महाधिवेशन अगाडी भदौ ५ गतेसम्म वडा र पालिका सम्मेलन तथा भदौ १५ गतेभित्र जिल्ला सम्मेलन सम्पन्न गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्