नेपाली सेनाले दियो मनमोहन प्राविधिक विश्वविद्यालयलाई हेलिकप्टर

काठमाडौं, जेठ २० । नेपाली सेनाले मनमोहन प्राविधिक विश्व विद्यालयलाई हेलिकप्टर प्रदान गरेको छ।

हेलिकप्टर विश्वविद्यालयले यसै वर्षबाट सञ्चालन गरेको रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङको स्नातक तहको अध्ययनमा प्रयोगात्मक अभ्यासका लागि उपयोग गरिने छ।

मन्त्रिपरिषद्को वैशाख २५ गतेको बैठकले उक्त हेलिकप्टर उपलब्ध गराउने निर्णय गरेको थियो।

नेपाली सेनाको स्वामित्वमा रहेको एनए–०३९ हेलिकप्टर नेपाली सेना, सैनिक वायु सेवाका महानिर्देशक पाइलट उपरथी आशिष नरसिंह राणाले प्रदेश १ का सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीलाई हस्तान्तरण गरेका हुन्।

हेलिकप्टरका ४७ वटा पार्टपूर्जाहरु पनि गौचरस्थित मध्यएयरबेसमा आयोजित समारोहमा हस्तान्तरण गरिएको जंगि अड्डाले जनाएको छ।

भारतको बैंगलोरस्थित हिन्दुस्तान एरोनेटिक्स लिमिटेडले निर्माण गरेको उक्त हेलिकप्टर भारतले २०५८ मंसिर २६ गते नेपाली सेनालाई सहयोगस्वरुप प्रदान गरेको थियो। निर्माता कम्पनीले तोकिदिएको उडान समयावधि पूरा गरेपछि प्रयोगविहीन अवस्थामा रहेको थियो।

मनमोहन प्राविधिक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको एरोनटिकल विधामा प्राविधिक ज्ञान अभिवृद्धि गर्नमा सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ। भविष्यमा पनि नेपाली सेनाले हवाइ साधन मर्मत तथा उडान सम्बन्धी विषयमा प्राविधिक ज्ञान, सीप तथा यस्ता किसिमका अध्ययन सामग्रीहरु हस्तान्तरण गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्