अभिनेता पल शाह अब फैसला कुर्ने, सर्वोच्च अदालत नजाने

काठमाडौं, जेठ २० । पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश उच्च अदालत पोखराले पनि सदर गरेपछि जबर्जस्ती करणीका आरोपी अभिनेता पल शाहले अब फैसला कुर्ने भएका छन् ।

जिल्ला र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत जान सकिने व्यवस्था रहे पनि समय लाग्ने भएपछि अब फैसला नै कुर्ने निर्णय भएको शाहका कानून व्यवसायी कमलामोहन वाग्लेले बताए ।

‘सर्वोच्च अदालत जाँदा त्यहाँ धेरै समय लाग्ने देखियो । फेरी सर्वोच्चमा हालेपछि जिल्लाको फैसला पनि अड्किन्छ । त्यसैले हामी फैसलामै केन्द्रित हुने तयारीमा छौँ,’ कानून व्यवसायी वाग्लेले भने ।

एक नाबालिग गायिकाले बलात्कारको आरोप लगाएपछि गत फागुन १५ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा आफै उपस्थित भएका शाहलाई त्यहाँको जिल्ला अदालतले चैत ११ गते मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

पीडित भनिएकी नाबालिगले पूर्वी नवलपरासी प्रहरीमा पनि जाहेरी दिएकामा त्यहाँको अदालतले पनि शाहलाई थुनामा पठाउने आदेश गरेको थियो । दुवै अदालतमा पीडित र जाहेरवालाले बयान फेरेपछि शाह छुट्न सक्नेमा उनका कानून व्यवसायीहरू आशावादी देखिएका थिए ।

वाग्लेकाअनुसार अदालतमा प्रमाण बुझ्ने कामअन्तर्गत पूर्वी नवलपरासी अदालतमा एक जना चिकित्सक र एक जना मौकामा कागज गर्ने व्यक्तिको मात्र बकपत्र हुन बाँकी छ । त्यसका लागि जेठ ३१ गते पेशी तोकिएको छ । यस्तै तनहुँ जिल्ला अदालतमा एक जना डाक्टर र मौकामा कागज गर्ने १४ जनाको बकपत्र हुन बाँकी छ । बकपत्रका लागि जेठ २३ गतेलाई पेशी तोकिएको छ ।

‘बकपत्रको काम सकिएपछि फैसलाका लागि सबै अंग पुग्छ । हामीले बढीमा असारभित्र फैसला आउने अपेक्षा गरेका छौँ,’ वाग्लेले भने ।

उनले तनहुँ जिल्ला अदालत र पूर्वी नवलपरासी जिल्ला अदालतमा छुट्टाछुट्टै सुनुवाइ हुने बताए । यता पललाई न्याय नमीलेको भन्दै उनका दर्शक निकै नै दुखी भएका छन् । उनका प्यानहरुमा अर्कोश पनि देखिएको छ । कतिपय त अब आन्दोलन नै गर्न पर्नेमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्