जनताकाे मन जितेर काम गरे माओवादीलाई एक नम्बरकाे बनाउन सकिन्छ : प्रचण्ड

काठमाडौं, जेठ २० ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई केन्द्रमा राखेर उनीहरूको सुख–दुःखमा साथ दिएर काम गर्न पालिकाका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘जनतामा माओवादी नै सेवक हो, सुख दुःखमा साथ दिन्छ भन्ने मान्यता स्थापित हुने गरी काम गर्नुस् ।’ सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख तथा उपप्रमुखलाई आज शुक्रवार आफ्नै निवास खुमलटारमा आयोजित एक कार्यक्रममा उहाँले विकास निर्माणको काम गर्दासमेत स्थानीय आवश्यकता र जनताको चाहनालाई ख्याल गर्न आग्रह गर्नुभएको थियो ।

पालिकाका नवनिर्वाचित प्रमुख/उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाण्डौ आएका देशैभरका जनप्रतिनिधिलाई पनि अध्यक्ष दाहालले त्यही खालको निर्देशन दिनुभएको थियो । कार्यक्रममा सहभागी कर्णाली प्रदेश अध्यक्ष विमला केसीका अनुसार सबै प्रतिनिधिलाई अध्यक्ष प्रचण्डले बधाई तथा शुभकामना मात्रै दिनुभएन, पालिका सरकार जनतामा जोडिएको सरकार भएकाले भूमिका बढाउनसमेत आग्रह गर्नुभएको थियो ।

अध्यक्ष प्रचण्डले जनताको मन जितेर काम गरेको खण्डमा पार्टीलाई एक नम्बरको बनाउन कुनै समस्या नहुने बताउनुभएको थियो । पार्टीको विचार, सिद्धान्त र आचरण विपरीत कुनै पनि गतिविधि नगर्न आग्रह गर्दै उहाँले सबैलाई सचेत गराउनुभएको थियो । अध्यक्ष प्रचण्डको सचिवालयले पनि पार्टीसम्बद्ध पालिकाका जनप्रतिनिधिलाई इमानदार भएर काम गर्न स्पष्ट शब्दमा निर्देशन दिनुभएको पुष्टि गरेको छ ।

माओवादीले अस्ति बुधवार र हिजो बिहीवार देशैभरका नवनिर्वाचित पालिकाका प्रमुख÷उपप्रमुखलाई काठमाण्डौ बोलाएर विभिन्न विधामा प्रशिक्षण दिएको थियो । आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयार पार्नुअघि दिइएको प्रशिक्षणले सकारात्मक प्रभाव पर्ने कार्यक्रममा सहभागीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्