केरुङबाट पेट्रोलियम पदार्थ आयात गरौँ, त्रिशूलीमा पाइपलाइन बिछ्याउँ : शेरबहादुर तामाङ
काठमाडौँ, जेठ २० । एमालेका सांसद शेरबहादुर तामाङले केरुङबाट पेट्रोलियम पदार्थ आयात गर्न त्रिशूली नदीमा पाइपलाइन बिछ्याउन प्रस्ताव गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले केरुङबाट पेट्रोलियम पदार्थ आयात गर्न त्रिशूली नदीमा पाइपलाइन बिछ्याउन आग्रह गरेका हुन् ।
‘तेल केरुङबाट ल्याउने विषयमा अध्ययन भएको छ ? केरुङमाथि छ, तल त्रिशूली नदी छ । पाइपलाइन ओछ्याऔँ, रेलबाट केरुङसम्म आएको तेल ल्याऊँ । त्रिशूलीमा भण्डारण बनाऊँ,’ भन्दै उनले भने, ‘नेपालको परलमूल्यका ५० प्रतिशत घटाउन सकिन्छ । अहिलेको ५/१० मूल्य घटाएर र बढाएर समाधान दिँदैन । दीर्घकालीन समाधान खोजौँ ।’
पेट्रोलियम पदार्थमा प्रतिलिटर एक रुपैयाँ बढाउँदा प्रति नागरिकको ३०० रुपैयाँसम्म खर्च बढ्ने भन्दै उनले अहिले हजारौँ रुपैयाँ खर्च बढेसँगै जनजिविका कष्टकर बनेको बताए ।
उक्त प्रस्तावमाथि बोलेका सबै सांसदले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले नसकेको आरोप लगाएका छन् । मूल्यवृद्धिका कारण जनता मारमा परेको उनीहरूले बताए ।
प्रतिक्रिया दिनुहोस्