प्रवक्ता महतले भने- गठबन्धन संघीय निर्वाचनसम्म जान्छ

काठमाडौं, जेठ २० ।  नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले स्थानीय तहमा भएको गठबन्धन आउने निर्वाचनसम्म जाने बताएका हुन् ।

स्थानीय तहको निर्वाचन समग्रमा सकारात्मक परिणाम आएको भन्दै उनले गठबन्धनको बैठकमा भएको निणर्यलाई आधार मान्न नेता-कार्यकर्तालाई आग्रह गरे । कांग्रेसले अहंकार कहिल्यै नराखेको भन्दै उनले गठबन्धन दलका नेताहरुले आफ्ना कार्यकर्तालाई प्रशिक्षणका क्रममा बोलेको कुराले खासै महत्व नराख्ने बताए ।

हालै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी प्रशिक्षणका क्रममा बोलेको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘नेपाली कांग्रेस अहंकारको बाटोमा छँदै छैन, दाहालले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा भन्नु भयो होला, त्यसलाई धेरै महत्व दिनुपर्छ भन्ने लाग्दैन ।’

आउने जिल्ला समन्वय समितिको निर्वाचनमा समेत गठबन्धनका दलबीच सहमति भएको भन्दै उनले सोही निणर्यानुसार प्रतिबद्ध भएर लाग्नुपर्ने बताए । उनले भने, ‘गठबन्धनका नेताबीचमा भएका सहमति प्रतिबद्ध भएर पालना गरौँ ।’ कहींकतै अपवादका रुपमा गठबन्धन विरोधी गतिविधि भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्