वैदेशिक रोजगारका नाममा कन्सल्टेन्सीबाट एक महिनामै पाँच करोड ठगी
काठमाडौं, जेठ १९ । वैदेशिक रोजगारीका नाममा ठगीने क्रम अझै रोकिएको छ्रैन् । कन्सल्टेन्सीहरूले रोजगारमा पठाइदिने भन्दै लाखौं रूपैयाँ असुली गरी सञ्चालक फरार हुने गरेका उजुरी बढेको वैदेशिक रोजगार विभागले बताएको छ ।
पछिल्लो समय शैक्षिक परामर्श सेवाका लागि शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर खोलिएका कन्सल्टेन्सीहरूले वैदेशिक रोजगार व्यवसायमा जोडिएर करोडौं रकम ठगी गर्ने गरेको पाइएको विभागले बताएको छ।
विभागले हालै इन्टरनेसनल एक्स्पो एन्ड ट्राभल सर्भिस प्रालि र जिनियस एजुकेसन एन्ड कन्सल्टेन्सी सर्भिस प्रालीले १४४ जनाबाट साढे ४ करोड रूपैयाँ उठाएपछि वैदेशिक रोजगार न्यायाधिकरणका मुद्धा दायर गरेको महानिर्देशक शेषनारायण पौडेलले बताए।
पौडेलले शैक्षिक परामर्श सेवाका नाममा खुलेका धेरै संस्थाले वैदेशिक रोजगारीको काम गरिरहेकामध्ये हाल ३ वटाको मुद्धा वैदेशिक रोजगार न्यायाधिकरणमा दायर गरिएको बताए। एक शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सी र व्याक्तिगतसहित पछिल्लो एक महिनामा मात्र ४ करोड ९३ लाख रूपैयाँ दाबी र सोको हर्जनासहित सात करोड रूपैयाँका बराबरको मुद्धा दायर गरिएको छ।
यता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शून्य सहनशिलता नीति अपनाउने बताएका छन् । सचिव एकनारायण अर्याल सहित बिहीबार बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन गर्दै मन्त्री श्रेष्ठले ठगीमा परेका युवालाई समयमा न्याय दिने तथा विदेशमा अलपत्र श्रमिकको तत्काल उद्धार गर्ने संयन्त्र बनाइने पनि बताए ।
साथै श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शून्य सहनशीलता नीति अपनाउने पनि बताएका छन् । मन्त्री श्रेष्ठले पछिल्लो समय कन्सल्टेन्सीका नाममा ठगी बढेको बताउँदै यसको नियन्त्रणका लागि शिक्षा मन्त्रालय लगायत निकायसँग समन्वयन गरी शैक्षिक परामर्श संस्थाको नियमनमा कडाइ गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्