नेपालमा पहिलोपटक कैदीबन्दीलाई फुटबल कोर्स

काठमाडौं, जेठ १८ ।  एसियाली फुटबल महासंघ (एएफसी), अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा सेन्टर आश्रय नेपालले जेलमा रहेका कैदीबन्दीहरुलाई लक्षित गरी फुटबल कोर्स गराउने भएको छ। सातदोबाटोस्थित एन्फाको कार्यालयमा बुधबार पत्रकार सम्मेलगन गर्दै आश्रय नेपालले ‘प्रिजन फुटबल, रिहाबिलिटेसन थ्रु फुटबल’ कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिएको हो।

कार्यक्रममा बोल्दै आश्रय नेपालकी अध्यक्ष खुस्बु ओलीले इंग्ल्यान्डपछि यस्तो कार्यक्रम आयोजना गर्ने नेपाल पहिलो देश भएको दाबी गरेकी छन्। उनले दुई वर्षअघि इंग्ल्यान्डमा गएर कसरी जेलमा रहेका कैदीबन्दीलाई फुटबल सिकाउन सकिन्छ भन्ने कुरा अध्ययन गरेर आएको पनि बताएकी छन्। इंग्ल्यान्डमा डेबिड डेनले यस्तो कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन्।

‘यसअघि सडक बालबालिका र असाहायलाई फुटबल सिकाएर विभिन्न कार्यक्रममा समावेश गर्दै आएको आश्रय नेपालले आफ्नो कार्यक्रमलाई एएफसीमा पठाएको थियो,’ उनले भनिन्, ‘हामीले यसपटक एएफसी र एन्फाको सहायोगमा केदीबन्दीको मानसिक स्वास्थ्यमा सहयोगका साथै उनीहरुमा आत्मविश्वास जगाउने उद्देश्यले खेलाडी, प्रशिक्षक र रेफ्री प्रशिक्षण तालिम सञ्चालन गर्न गइरहेका छौं।’

यो तालिममा ४८ जना खेलाडी, ३२ प्रशिक्षक र रेफ्री उत्पादन गर्ने योजना आयोजकको छ। त्यस्तै, यो कार्यक्रमको पहिलो चरण जुन ५ देखि सुरु हुनेछ।

‘प्रशिक्षकलाई डी लाइसेन्स, रेफ्रीलाई क्याटेगोरी ४ एन्फा रेफ्री र खेलाडीलाई सहभागीको प्रमाणपत्र प्रदान गरिने छ। रेफ्रीमा भने महिला सेलमा रहेको मात्र छनोट गरिने छ,’ आयोजनले जारी गरेको प्रेस विज्ञप्तिमा छ।

यो पहिलो चरणको कार्यक्रम भएको दोस्रो चरणको कार्यक्रम भने आगामी डिसेम्बरमा सुरु हुनेछ। एन्फाको तर्फबाट सम्झौतापत्रमा महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरे।

प्रतिक्रिया दिनुहोस्