काठमाडौं महानगरले नयाँ गाडी नकिन्ने, भौतिक पूर्वाधार एम्बुलेन्स चाँडै
काठमाडौं, जेठ १८ । काठमाडौं महानगरपालिकाले नयाँ गाडी नकिन्ने र भएकालाई ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ बनाउने भएको छ।
नयाँ जनप्रतिनिधि निर्वाचित भएपछिको पहिलो नगर कार्यपालिका बैठकले काठमाडौं महानगरपालिकाभित्रका सडकका खाल्डाखुल्डी पुर्नका लागि ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने निर्णय गरेको थियो।
सोहीबमोजिम प्रक्रिया अगाडि बढाइएको महानगरले जनाएको छ। प्रत्येक पूर्वाधार एम्बुलेन्समा एक इन्जिनियरसहित ४ जना मजदुर हुनेछन्। साथै गाडीमा निर्माण सामाग्री र कच्चा पदार्थ पनि तयारी अवस्थामा राखिनेछ।
काठमाडौं महानगरले कल सेन्टर पनि सुरु गर्ने भएको छ। कल सेन्टरबाट आएका गुनासोको आधारमा पूर्वाधार एम्बुलेन्स परिचालित हुनेछन्।
महानगरका नवनिर्वाचित मेयर बालेन शाहले कार्यपालिकाको पहिलो बैठकमा कल सेन्टर चलाउने, भौतिक पूर्वाधार एम्बुलेन्स चलाउने, होटल–रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने लगायत निर्णय गरेका थिए।
प्रतिक्रिया दिनुहोस्