उपमेयर डंगोलको पहिलो निर्णयः हिंसामा परेका महिलाका लागि ‘महिला सेल’ गठन गर्ने

काठमाडौं, जेठ १७ ।  काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदबहाली गरेलगत्तै आफ्नो चुनावी प्रतिवद्धता अनुसार काम गर्ने कार्यको थालनी गरेकी छन्।

उनले पदबहालीपछि आफ्नो प्रतिवद्धता अनुसार हिंसामा परेका, अन्यायमा परेका र पीडित महिलाहरुको संरक्षण, आवश्यक कानुनी सहयोग तथा सहजिकरण र आत्मरक्षाको तालिमलगायतको व्यवस्थापनका लागि महानगरपालिकाका सबै वडामा वुमन सेल ‘महिला सेल’ गठन गर्ने प्रक्रिया अघि बढाउने निर्णयमा हस्ताक्षर गरेकी छन्।

सबै वडामा गठन भएको महिला सेलले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका र पीडित महिलाहरुका लागि आवश्यक कार्य गर्ने छ। उनको चुनावी प्रतिवद्धतापत्रको २२ नम्बर बुँदामा महिला सेल गठन गर्ने उल्लेख छ।

त्यसैगरी उहाँले पदबहालीपछि मेलमिलाप कर्तालाई आह्वान गर्न मेलमिलापको सूचि अध्यावधिकका लागि सूचना प्रकाशन गर्ने पत्रमा हस्ताक्षर गरेकी छन्। उनले मेलमिलाप केन्द्र पनि प्रत्येक वडामा गठन गरी साना–तिना विवादलाई वडा तहबाटै निरुपण गर्ने उदेश्यले मेलमिलाप केन्द्रहरुलाई थप प्रभावकारी बनाउने बताइन्।

प्रतिक्रिया दिनुहोस्