सम्पर्कविहीन तारा एयरको जहाज मानापाथी हिमालको फेदीमा रहेको आशंका

काठमाडौं, जेठ १५ । सम्पर्कविहीन तारा एयरको एउटा विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको आशंका गरिएको छ । तर, विमान कुन अवस्थामा छ भन्नेबारे खुल्न बाँकी नै छ ।

नेपाली सेनाको मध्यकमान्ड हेडक्वार्टर विजयपुरका प्रमुख सेनानी प्रेम पौडेलका अनुसार मानापाथी हिमालको फेदीमा विमान रहेको सूचना आएको छ । उनले भने, “खबर प्राप्त भएको छ । सेना सो क्षेत्रमा जाँदै छ । आधिकारिक रूपमा पुष्टि हुन भने बाँकी छ ।”

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान म्याग्दीको घोडेपानी क्षेत्रबाट आज बिहान १० बजेर ७ मिनेटपछि सम्पर्कविहीन भएको थियो । बिहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज १० बजेर १५ मिनेटमा अवतरण गर्ने समय थियो ।

जहाजमा चालक दलका तीनसहित २२ जना सवार छन् । घटनाबारे अझै स्पष्ट सूचना आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्