पाइलटको मोबाइलको नेटवर्क चलिरहेको छ, हामी ट्रेसिङ गरिरहेका छौं: प्रशासकीय अधिकृत पाण्डे

काठमाडौं, जेठ १५  ।  आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको ‘अल्फा इको ट्यांगो’ कल साइन भएको विमानका पाइलटको मोबाइलको नेटवर्क चलिरहेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले विमानका पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरहेको पाइएको जनाएको छ । त्यही अनुसार लोकेसन ट्रेसिङको काम भइरहेको प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले  जानकारी दिए ।

उनले भने,’हामीले खोजी कार्यलाई तीव्रता दिइरहेका छौं । स्थल र हवाइ मार्गबाटै खोजी गरिरहेका छौं । पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरेहको पाइएको छ । हामीले त्यही अनुसार लोकेसन ट्रेसिङ गरिरेहका छौं ।’ धावालागिरी हिमाल नजिकै नै पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरहेको देखिएको छ ।

कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज ११ बजिसक्दा पनि सम्पर्कमा आएको छैन ।

विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए । उक्त जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक थिए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार एकपटक जोमसोम आकाशमा उडेको देखिएको जहाज धौलागिरि हिमालतर्फ फर्किएको र त्यसपछि सम्पर्कमा आएको छैन ।

प्रतिक्रिया दिनुहोस्