७५ अर्ब भन्दा बढीको परियोजना स्वीकृत गरिसकेका छौँ: मन्त्री रेग्मी
काठमाडौं, ११ जेष्ठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले चालु आर्थिक वर्षमा समाज कल्याण परिषदले ७५ अर्ब भन्दा बढीको परियोजना स्वीकृत गरिसकिएको बताउनुभएको छ ।
काठमान्डौमा आयोजित एक कार्यक्रममा मन्त्री रेग्मीले आफ्नो पद बहाली पछि समाज कल्याण परिषदमा विभिन्न बहानामा रोकिएका परियोजनाहरू स्वीकृत गरिएको बताउनुभयो । “कुनै पनि परियोजना यो वा त्यो बहानामा रोकिनु हुन्न ” मन्त्री रेग्मीले बताउनुभयो ” यो सात महिनामा हामीले रोकिएर बसेका परियोजनाहरू अध्ययन गरेर पास गरेका छौ ।”
उहाँले समाज कल्याण परिषद लाई पारदर्शी र जनमुखी बनाउन पूर्ण रूपमा डिजिटलाइज गरिने समेत बताउनुभयो । “परिषदमा अनावश्यक रूपमा फाइल रोकिने गरेको गुनासो छ ,अब कुनै बार्गेनिङ चल्दैन, ” उहाँले बताउनुभयो ” यसलाई अन्त्य गर्न समाज कल्याणको पुरै सिस्टम प्रविधि मैत्री बन्नेछ ।” उहाँले समाज कल्याण लाई प्रविधि मैत्री बनाउन सरकारी र गैर सरकारी संस्थाहरूलाई सहयोगको आह्वान समेत गर्नुभयो ।
कार्यक्रममा मन्त्री रेग्मीले एनजिओले सीप तथा आयमूलक कार्यक्रम हरू आयोजना गरेर महिला हरूलाई उत्प्रेरित गराउनुपर्ने बताउनुभयो । उहाँले विशेष गरी महिलालाई उद्यमी बनाउन देशैभरि उद्यमशीलता सम्बन्धी तालिम आवश्यक रहेको बताउनुभयो । मन्त्री रेग्मीले महिलाहरूलाई उद्यमी बनाउन आगामी बजेटमा विशेष कार्यक्रम मार्फत बजेट विनियोजन गरिएको समेत बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्