संयुक्त विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ, मूल्यवृद्धि खारेज गर्न माग
काठमाडौं, जेठ ११ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् ।
बुधवार नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै निगमको कार्यालय घेराउ गरेका हुन् ।
उनीहरूले निगमको मुल गेटमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए । उनीहरूले रुस र युक्रेनको युद्ध देखाएर नेपालमा मूल्यवृद्धि गर्नुको तात्विक कारण नरहेको बताए ।
रुस र युक्रेनमा भएको युद्धलाई लिएर जनतालाई अफवाह फैलाएर सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको उनीहरूको आरोप छ । उनीहरूले जनतालाई खान, लाउन संकट भएको बेलामा पनि नेपाल सरकार जनता चाहिँदैन भनेर आफ्ना अव्यवहारिक गतिविधिमा लिप्त रहेको बताए ।
कार्यक्रममा बोल्दै विद्यार्थी संगठनका नेताहरूले जनताको कर एसी गाडीमा झण्डा हालेर हिँड्नका लागि नभएको भन्दै राज्यले जनतामाथि परिरहेको संकटको बेलामा अविभावकत्व लिनुपर्ने बताए ।
पार्टीमा लाग्यो भन्दैमा जनता सेक्ने काम गर्ने सरकार र नेताहरूको शासन प्रणालीलाई लालसलाम, जिन्दावाद र जय नेपाल भन्न नसकिने जिकिर गरे । उनीहरूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि कुनै पनि हिसाबले ठिक नभएको बताए ।
सरकारले अविलम्व पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नलिए आगामी दिन विरोधका कार्यक्रमहरू थप सशक्त बनाउँदै जाने चेतावनीसमेत दिए ।
निगमका कर्मचारी, सरकारी कर्मचारी र मन्त्री तथा सांसदहरूलाई सेवा, सुविधा थप गर्न सरकार लागि परेको भन्दै उनीहरूले आयल निगम घाटामा नभएको र सरकारले मनलाग्दी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको बताए ।
उनीहरूले आयल निगमले ३३ अर्ब घाटा भनेको तर ५५ अर्ब नाफा भएको कुरा जनतालाई नभनेको आरोप लगाए ।
प्रदर्शनकारीहरूले गठबन्धनको उपहार महंगी र भ्रष्टाचार, अनियमितता र भ्रष्टाचार, देउवा सरकारको उपहार, आयल निगमका भ्रष्ट कर्मचारी मुर्दावाद जस्ता नारा लगाएर विरोध गरेका थिए ।
सरकारले गत आइतबार रातिबाट लागू हुने गरी प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।
अहिले पेट्रोल प्रतिलिटर १८०, डिजेल र मट्टितेल १६३, आन्तरिक हवाईमा १६६, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढाएर १८ सय रुपैयाँ पु¥याएको छ ।
प्रतिक्रिया दिनुहोस्