जित निश्चित भएपछि बालेनले भने- काम गर्न सकेमात्र उत्सव मनाउँला
काठमाडौं, जेठ ११ । काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाह लगभग जितको नजिक पुगेका छन्।
जित नजिक पुगेसँगै उनले अब आफ्नो वास्तविक परीक्षा सुरु हुने प्रतिक्रिया दिएका छन्। अबको बाटो सहज नहुने बताउँदै उनले आफूहरूको अभियानको वास्तविक परीक्षा अब सुरु हुने बताएका हुन्। ‘हामीले हिँड्ने सही बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरूले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन्।
यसका साथै उनले विभिन्न ठाउँबाट विजयी र्यालीका लागि आउने कुराहरू सुनेको बताउँदै काठमाडौं आउने दुःख नगर्न समर्थकलाई आग्रह गरेका छन्। उनले जीत-हारलाई मतगणना सकिएसँगै सक्नुपषर्ने बताएका हुन्।
‘घोषणा पत्रमा भएका कुरा लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला। अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौं,’ बालेनले भने।
स्थानीय तह निर्वाचन २०७९ मा आफूलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद दिएका छन्।
‘चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन। हाम्रो स्वयंको पनि बढीमा ३५ प्रतिशत मत आउला। यसको अर्थ हो, बदर मतहरू बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरूले अरुलाई छनौट गर्नु भएको छ। हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनु पर्छ। र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ,’ बालेनले भने।
अभियानको अहिलेसम्मको सफलताका लागि खुसीयाली प्रकट गर्ने नै हो भने पनि आफ्नै क्षेत्रमा रहेर ‘धन्यवाद र्याली’ आयोजना गर्न उनले आग्रह गरेका छन्। त्यसले सो स्थानमा बढी प्रभाव पार्ने उनको तर्क छ।
‘हामीलाई साथ र सुझाब जति महत्वपुर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको। हामीले बाटो बिराउन लाग्यौं भने खबरदारी गर्नुहोला। अनि हाम्रो अभियानको उर्जाको लागि हामी सँधै तपाईहरुसँगै जोडिरहेका हुन्छौं। तपाईंहरुको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौं,’ उनले भने।















प्रतिक्रिया दिनुहोस्