गोली लागेर शिक्षकसहित कम्तीमा १४ बालबालिकाको मृत्यु

काठमाडौँ , जेठ ११। अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा एक शिक्षक र कम्तीमा १४ जना विद्यार्थी मारिएका छन् ।

राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पिस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन् । अठार वर्षका आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ । कानुन पालना गराउने अधिकारीहरूले उनलाई मारिदिएको हुनसक्ने विश्वास गरिएको छ ।

रब एलिमेन्ट्री स्कूलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानी हत्या गरेका विवरण सार्वजनिक भएको पनि याबटले जानकारी दिए । उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् ।

राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्